
रुकुम पश्चिम २५, भदौ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडानम्बर -५, ले वडाका बस्ती-बस्तीमा पुगेर तरकारी बीउ वितरण गर्न थालेको छ । किसानको माग र वडाको वार्षिक कार्यक्रम अनुरुप वडासरकारले ५ नम्बर वडाका विभिन्न बस्तीमा पुगेर ताजा तरकारीको बीउबिजन वितरण गर्न लागेको हो ।
वडाअध्यक्ष समीरजङ्ग मल्लका अनुसार आज मात्रै वडानम्बर -५ को थर्पु, डाङ्गडुङ्गे, घोयलपानी, ज्यामिनडाँडा र कोलटाकुरा बस्तीमा पुगेर ताजा तरकारी बीऊ वितरण गरिएको छ ।
अन्य किसानका लागि भने आइतबार देखि वडा कार्यालयबाट तरकारी बीउ वितरण गरिने भएको छ । त्यसका लागि बागबजार, पाखाडेरा, गैरीगाउँ, नयाँबस्ती, सेरीगाउँ र कुनावाङ्ग लगायत बस्ती रहेको वडाअध्यक्ष मल्लको भनाइ छ ।
यदि किसानले बस्तीमै तरकारीको बीउ माग गरेको खण्डमा पुनः वडापालिकाले किसानको बस्तीमै पुगेर बीउबिजन वितरण गर्ने जनाएको छ । यसबाट ५ नम्बर वडाका किसानलाई वडाकार्यालयमा धाउनुपर्ने छैन ।
