
रुकुम पश्चिम २१, चैत ।
बैज्ञानिक चाल्र्स डार्बिनको उद्विकासबादी सिद्धान्त अनुसार एउटा सानो जीव विकसित हँदैहुँदै मान्छे बनेको हो भने, कामी, दमाई, सार्की अर्थात् दलित समुदाय सबै भन्दा पहिले मान्छे बनेको हुनुपर्छ । उनीहरु मान्छे बनेर मान्छेको नाङ्गो शरिर ढाक्नको लागि कपडा सिलाउन थाले, हतियारहरु निमार्ण गर्न थाले, जुत्ता सिलाउन थाले, सारंगी बजाएर मान्छेलाई मनोरज्न दिन थाले । एउटा सामान्य जीव विकसित हुँदैहुँदै मान्छे बनेर रचनात्मक बिचार निमार्ण हुनुको एक प्रमाण हो दलित समुदाय ।
अहिले नेपालमा मान्छेले मान्छेलाई विभेद गरेको घटनाहरु बेलाबेला देखा पर्छन् । कतिपय ठाउँमा त छुवाछुतकै कारण मान्छे मरेका पनि छन् । रुकुम चौरजहारीमा केही वर्ष अघि जातकै कारण युवाहरुलाई मारेर खोलामा फालियो । अरु त्यस्ता घटना त कति छन् कति गन्ती नै छैन । यस्तो खालको घटना घट्नु भनेकै चाल्र्स डार्बिनको सिद्धान्त अनुसार एउटा सानो जीव विकसित हँदै हँदै मान्छे बन्ने क्रममा अझै मान्छे बन्न नसक्नुको परिणाम होकि जस्तो लाग्छ । जस्तै, भान्सा छोइयो भनेर खाना फ्याक्नेहरु अझै मान्छे बनेका छैनन् । कामीको छोराले छोरी लगिदियो भनेर ढुंगामुडा गर्नेहरु अझै मान्छे बनेका छैनन् । यो कामी दमाईले के पो गर्न सक्थ्यो र भन्नेहरु अझै पूर्ण रुपमा मान्छे बनेका छैनन् ।
सरकार ! मैले जीवहरु र पशुहरुलाई यीनीहरुले गल्ती गरे भनेर संसारको कुनै पनि देशको सरकारले कारागारभित्र थुनेको देखेको पनि छैन सुनेको पनि छैन । अनि नेपाल सरकारले किन फेरि मान्छे बन्न नसकेकाहरुलाई पक्राउ गरेर कारागारमा थुन्न खोज्छ ? कुनै जीवहरु हिंस्रक हुन्छन्, मान्छेको ज्यान लिन सक्छन् । मान्छेको घरपरिवार नै भताभंग बनाउन सक्छन् अनी सरकारले त्यस्ता अझै मान्छे बन्न नसकेका जीवहरुलाई कारागारमा थुनेर विश्व हसाउने काम किन गरेको ?
यदि जीवहरु र पशुहरु मानसिक रुपमा विरामी भए भने तीनले आक्रमण गर्छन्, फरक प्रकारको व्यवहार देखाउँछन् । जस्तै, मान्छेले मन्दिरमा पूजा गर्न जाँदा ढुंगा हान्नु, पानी छोइदियो भनेर झम्टिन खोज्नुलाई मान्छे बन्ने क्रममा अझै मान्छे बन्न नसकेका जीवहरु मानसिक रोगी भएका हुन् भन्ने कुरा बुज्नुपर्छ । त्यसकारण यस्ता खालका जीवहरुलाई पक्राउ गरेर कारागारमा थुन्ने होइन सरकार । बरु नेपालमा विकसित हुनेक्रममा कुनै जीव मान्छे बनिसकेको र कुनै जीव अझै मान्छे बन्न बाँकि रहनुको कारण पत्ता लगानको लागि संसारको नम्बर एक रिसर्च सेन्टरको स्थापना गर्नुपर्छ जस्तो लाग्छ ।
त्यसकारण सरकार ! मेरो बिन्ति छ अझै पनि मान्छे बन्न नसकेका जीवहरुलाई पक्राउ गरेर कारागारमा थुन्ने काम नगर्नु । विश्व हाँस्छ यार । चाल्र्स डार्विनको विश्वव्यापी रुपमा फैलिएको उद्विकासबादी सिद्धान्तलाई जवरजस्ती तुहाउन नखोज्नु । किनकि यी जीवहरु पनि एकदिन विस्तारै मान्छे बन्ने छन् । अनि उनीहरुले हामी मान्छे हौँ हामी बीचमा भेदभाव छैन भन्ने कुरा थाह पाउने छन् ।
सरकार ! हाम्रो देशमा मानसिक रोगीहरुलाई त समातेर अस्पताल लगिन्छ भने ती मान्छे बन्न नसकेका जीवहरुलाई किन कारागार लगिन्छ ? बिन्ति छ, पक्राउ पनि नगर्नु । थुन्न पनि नखोज्नु किनकि उनीहरु निर्दोश छन् । अबको ५ सय वर्ष पछि पक्कै मान्छे बन्छन् ।
लेखक- हरि जिज्ञासु ।
