रुकुम पश्चिम २४, असाेज ।
आफ्नो नाम ‘प’ बाट आउने भएर मात्र होइन कि पृय शब्द नै ‘प’ बाट आउने भएकोले मलाई ‘प’ बाट आउने नाम प्यारो लाग्छ । तसर्थ मैले दुवै छोराहरूको नाम ‘प’ बाट आउने राखिदिएँ । सुरूमा छोरीको नाम पनि प्रतिष्ठा राखिदिएको थिएँ तर स्कूलमा नाम लेखाउँदा अस्मिता लेखिन पुग्यो । अस्मितामा अस्मिता शब्दकै गुणहरू विकास हुँदै गएकोले नाम फेर्न आवश्यक ठानिनँ ।
परिशीलनको ‘प’ गुमाउन पुगे पनि त्यो रिक्तता तपाईँ प्रविण आएर पूरा गरिदिनुभयो । अस्मितालाई तपाईँले रोज्नुभयो । तपाईँलाई अस्मिताले रोजी । दुवै पृय मान्छेहरूको मिलनले प्यारोपन दोब्बरले गाढा भयो ।
तपाईँ पूर्वका । अस्मिता पश्चिमकी । तपाईँहरूको मिलनले हाम्रो दुवै परिवारलाई पूर्व पनि मेरै र पश्चिम पनि मेरै भन्ने अधिकार दिलाइदिनुभयो । पूर्व र पश्चिम दिशाको कारणले मात्र होइन धेरै कुराले फरक छ । भाषा, संस्कृति, विकास आदिले पनि । ती फरक फरक मात्र होइनन् परिपूरक पनि हुन् । ती कुराहरू अब साझा हुन पुगे । वल्लो किनार र पल्लो किनारमा रहेकाले आफूतर्फकै ठूलो र अर्कोतर्फको सानो देख्दछन् । यो अनौठो कुरा होइन । दृष्टिको सार्वभौम सिद्धान्त नै नजिकको वस्तु ठूलो देखिनु हो । तर तपाईँ ठीक बिचमा रहेकोले दुवैतिर बराबर देख्न सक्नुभयो । जो ठीक बिच्चमा उभिनसक्छ उसले मात्र दुवैतर्फका कुराहरू बराबर देख्नसक्छ । अलिकति यताउता सर्नेबित्तिकै दुवैतिर बराबर किमार्थ देखिँदैन ।
यस हिसाबले तपाईँले सेतुको काम गर्नुभएको छ । अस्मिता त्यही सेतुकी बार हो । सेतुको दुवै किनारकी खम्बा हो । त्यही सेतुको माध्यमबाट असल संस्कारको आदान प्रदान भएको छ । अपनत्व ओहोदोहोर गरेको छ । सेतुभन्दा तलको नदी कहिले सुस्ताएर बग्छ, कहिले गडगडाएर बग्छ । कहिले भेल बनेर उर्लन्छ र आसपासको किनार भत्काएर कुद्छ । कहिले पानी सुकेर किनारमा कमिला पनि हिँड्छन् । सबै मौसममा उही फूल फुल्दैन । त्यो कुरा तपाईँले नै राम्रोसँग बुझ्नुभएको छ ।
उताबाट हेर्दा तपाईँ छोरा देखिनुहुन्छ । सधैँ असल छोरा देखिइरहन सक्नुपर्छ । यताबाट हेर्दा तपाईँ जुवाइँ देखिनुहुन्छ । सधैँ असल जुवाइँ देखिइरहन सक्नुपर्छ । जुवाइँ हुँदैमा छोराको कर्तव्य सकिने पनि होइन । छोरा हुँदैमा जुवाइँका कर्तव्य सकिने पनि होइन । उखानविपरीत दुवै नाउमा खुट्टा राखेर सन्तुलितरूपमा क्षिर समुन्द्र पार गर्नुपर्ने हुन्छ जुवाइँले ।
एकपटक अकबरले यो संसारमा सबैभन्दा बैगुणी को छ ? हाजिर गराऊ भनी बीरबललाई अह्राएछन् । बीरबलले एकजना मान्छे उपस्थित गराएछन् । यो को हो ? भनी अकबरले प्रश्न गर्दा बीरबलले यो ‘जुवाइँ’ हो भनी जवाफ दिएछन् । अकबरले जुवाइँलाई फाँसी दिन तख्ता तयार गर्न लगाउँदा बीरबलले दुईवटा फाँसीका तख्ता तयार गर्न लगाएछन् । अकबरले अच्चम्भ मान्दै अर्को कसको लागि हो ? भनी सोधेछन् । बीरबलले अर्को हजुरकै निम्ति हो, किनभने हजुर पनि कसै न कसैको जुवाइँ होइबक्सन्छ भनेछन् ।
तर यो जमाना सकारात्मक सोचको जमाना हो । अहिले नकारात्मक अकबर र बीरबलहरू छैनन् । अहिलेका बीरबलले सबैभन्दा गुणी व्यक्ति खोज भनेर अहिलेका अकबरलाई नै आदेश दिने अधिकार राख्दछन् । अहिलेका अकबरले खोजी खोजी सबैभन्दा गुणी जुवाइँलाई नै पाउनेछन् र बीरबलको अघि उपस्थित गराउनेछन् । बीरबलले जुवाइँलाई पुरस्कार दिनेहेतु प्रमाणपत्र तयार गर्न लगाउनेछन् । अकबरले दुईवटा प्रमाण तयार गर्नेछन् एउटा आधुनिक बीरबलको नाम उल्लेख गरेर र अर्को आधुनिक जुवाइँको नाम उल्लेख गरेर ।
तर अकबर र बीरबलको जमानामा अन्तर रह्यो भने वा हिमाल र तराईको वा पूर्व र पश्चिमको अन्तर रह्यो भने उल्लिखित कथामा गडबडी उत्पन्न हुनसक्छ ।
यो कथा मेरो जुवाइँको लागि मात्र होइन समस्त जुवाइँहरूको लागि हो । विवाहित लोग्नेमान्छेहरू सबै कसै न कसैका जुवाइँ नै हुन् । अतः सबै जुवाइँहरूलाई जन्मदिवसको शुभकामना ।
वावू!क्या दामी लेख।ज्वाइँ भैसकेका र हुने तरखरमा रहेकाहरुले पढ्नै पर्ने खालको।
पुर्ण अाेलीजीले निबन्ध मार्फत जुन गहकिलाे कुरा पस्किनुभयाे त्यस्काेलागि पुर्वेलि ज्वाईकाे साधुवाद ।
सरल ,मार्मिक र सुंदर लेखनशैली जसले गर्दा सधै दाईका लेखको प्रतीक्षा रहन्छ