रुकुम पश्चिम २१, बैशाख ।
रुकुम पश्चिमको मुसिकोटमा सञ्चालन गरिएको दोस्रो रुकुम कप २०८१ को उपाधि रुकुम पश्चिममा रहेको चण्डीदल गणले जितेको छ । मुसिकोट नगरपालिका -१, को बराहटाकुरामा बिहीबार सम्पन्न भएको फाइनल खेलमा आयोजक रुकुम पश्चिमलाई –३-२ को सेटमा पराजित गर्दै चण्डीदल गणले उपाधि जितेको हो ।
आयोजकले खेलको सुरुवाती दुई सेट जिते पनि त्यसपछिका ३ सेट लगातार गुमाउँदा आयोजकले उपाधि हात पार्न सकेन ।
रुकुम पश्चिम अपराजित रहँदै १७ अङ्कका साथ अङ्क तालिकाको पहिलो स्थानमा रहँदै फाइन पुगेको थियो । समूह चरणमा आयोजकसँग मात्र हार बेहोरेको आर्मी १६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।
प्रतियोगितामा विजेता आर्मीले नगद पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ र कप हात पारेको छ । उप विजेता रुकुम पश्चिमले नगद दुई लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।
आर्मीमा नेपाली राष्ट्रिय भलिबल टोलीका क्याप्टेन मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट र दुर्गा महतो लगायत खेलाडी थिए । त्यस्तै आयोजक रुकुम पश्चिममा राष्ट्रिय भलिबल टोलीका महत्त्वपूर्ण सदस्य तथा पुलिस क्लबका रविन चन्द, सफल विश्वकर्मा, पहल गहतराज र एपिएफका लोकेन्द्र गिरी लगायतका खेलाडीहरू रहेका थिए ।
प्रतियोगितामा हाम्रो सरोकार रुकुम पश्चिम तेस्रो भएको छ । बिहीबार नै भएको तेस्रो स्थानको खेलमा नवलपरासी जिल्लालाई पराजित गर्दै हाम्रो सरोकार तेस्रो भएको छ । उसले नगद एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र कप हात पारेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
सान्त्वना भएको नवलपरासीले भने एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र समेत प्रदान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।