रुकुम पश्चिम १६, जेठ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।
जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै जित पूरा गरेको छ । जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै खेल जिताएका हुन् ।
२ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा वर्षा भएपछि लामो समय खेल रोकिएकाले पाँच ओभर घटाइएको थियो ।
लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।