
रुकुम पश्चिम १८, चैत ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -८, मा विविध खेलकुद प्रतियोगिता सन्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा तीन बहिनी युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
यहि चैत २५ गते देखि २०८० बैशाख १ गते सम्म वडाको घोरखानी खेलमैदानमा साविकको शुद्ध वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता सन्चालन हुन लागेको तीन बहिनी युवा क्लबका संयोजक सङघर्ष पुनले जानकारी दिनुभयो ।
त्यस्तै भाले तान्ने, घैटोफोर, रस्साकसी, एकल नृत्य र महिला कुर्सी रेस लगायतका प्रतियोगिताहरु पनि सन्चालन हुने छन् ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समूहले नगद २५ हजार, कप मेडल सहित प्रमाण पत्र पाउने छन् । दोस्रो हुनेले १५ हजार मेडल सहित प्रमाण पत्र र तेस्रो हुनेले १० हजार, मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै महिला भलिबलमा प्रथम हुने समूहले १० हजार, कप मेडल सहित प्रमाण पत्र पाउनेछन् । दोस्रो हुने समूहले ७ हजार, मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने समूहले ५ हजार, मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
अन्य प्रतियोगितामा सहभागि प्रतिस्पर्धी लाई पनि पुरस्कारको व्यवस्था गरिएको तीन बहिनी युवा क्लबका संयोजक पुनले जानकारी दिनुभयो।
वडा सरकारले खेलकुदको लागि बजेट बिनियोजन नगरेपछि वडाबाट वैदेशिक रोजगारमा रहेका, विभिन्न सरकारी निकायमा आबद्ध र समाजसेवी युवाहरुबाट २ लाख १९ हजार ३ सय ५० रुपैँया सहयोग संकलन भएको र त्यसैबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको पुनले बताउनुभयो ।
