रुकुम पश्चिम ३, चैत ।
नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको उपलक्ष्यमा आज रुकुम पश्चिममा खुसियाली र्याली मनाइएको छ । बिहीवार युएईलाई पराजित गर्दै नेपाल विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको उपलक्ष्यमा खुसियाली र्याली मनाइएको हो ।
क्रीकेट संघ रुकुमका अनुसार कालिका मन्दिरबाट सुरु गरिएको खुसियाली र्याली खलंगा बजार परिक्रमा गर्दै पुनः कालिका मन्दिर पुगेर सकिएको छ । र्यालीमा रुकुम पश्चिमका क्रीकेट समर्थकको उपस्थित रहेको थियो ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हिजो सम्पन्न अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपाल शिर्ष ३ मा परेको हो ।
नेपाल डकवर्थ लुइस मेथडको आधारमा विजयी भएको थियो । युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको थियो । तर भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका थिए ।
नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा अम्पायरले खेल रोकेर डिएलएसको आधारमा नेपाललाई विजेता घोषणा गरेका थिए। डिएलएसका आधारमा नेपाल ९ रनले विजयी हुँदै आगामी जून जुलाईमा जिम्बाब्बेमा हुने विश्वकप छनोटमा सहभागी हुनेछ ।