नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । योसँगै नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न अन्तिम खेलमा युएईलाई पराजित गर्नुपर्नेछ ।
जितको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।
कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । विकेटको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए ।
नेपालले अव विहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले पछिल्ला ११ मध्य १० खेल जितेको हो ।
–हाम्रो खेलकुदबाट