रुकुम पश्चिम २८, फागुन ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई) माथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । युएईले भने नेपालसँगको हारसँगै सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ । नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।
जितको लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए । यो युएईको ओडिआई इतिहासको सवैभन्दा कम योगफल हो । यसअघि युएईको सबैभन्दा कम योगफल २०१८ मा आयरल्यान्डविरुद्ध विश्वकप छनोटमा ९१ रनमा अल आउट भएको थियो ।
यो नेपालको ओडिआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक रनको जित २०२१ मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा १ सय ५१ रन थियो । नेपालले उक्त कीर्तिमान तोडेको हो ।
–हाम्रो खेलकुद