रुकुम पश्चिम -९, फागुन ।
कप्तान रोहित पौडेल र करन केसीले नवौं विकेटको लागि कीर्तिमानी साझेदारी गर्दा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ।
स्कटल्याण्ड र नामिबियासंग घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा जितको साथ नेपालले सिरिजको सबै ४ खेलमा जित दर्ता गरेको छ। आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो पटक चारवटै खेल जितेको हो।
टियु मैदान कीर्तिपुरमा स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १३८ रन बनाउदा ८ विकेट गुमायो। हार निश्चित देखिएको अवस्थामा चौंथो नम्बरमा ब्याटिंग गरेका कप्तान रोहित पौडेलले एक किनार छोडेनन् र नवौं विकेटको लागि करन केसीसंग अविजित ७५ रनको साझेदारी गर्दै टिमलाई रोमान्चक जित दिलाए। नेपालले ८ विकेट गुमाएर ४४.१ ओभरमा लक्ष्य हाँसिल गर्यो।
रोहित र करन बीच नवौं विकेटको लागि भएको अविजित ७५ रनको साझेदारी नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा नवौं विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा यो कुनै पनि विकेटको लागि नेपालको १७ औं ठूलो साझेदारी हो।