रुकुम पश्चिम २६, भदौ ।
टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको छ । श्रीलंकाले पाकिस्तानलाई हराउँदै छैटौं पटक एसिया कपको उपाधि जितेको हो ।
श्रीलंकाले २०१४ पछि पहिलो पटक एसिया कपको उपाधि जितेको छ । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ४७ रन बनायो ।
पाकिस्तानका लागि मोहम्मद रिजवान बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन खासै चल्न सकेन । रिजवानले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाएर आउट भए ।
त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपाक्षले ४५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । त्यस्तै वानिन्दु हसरंगा २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । एक समय ५८–५ को खराब अवस्थामा पुगेको श्रीलंकालाई छैटौं विकेटका लागि राजपाक्ष र हसरंगाले ३६ रनमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए ।
श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो । श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराउँदै जितेको थियो । २००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको थियो ।
त्यस्तै श्रीलंकाले पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।