प्रेसपालिका संवाददाता : आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । ओमानविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।
नेपालविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो । यसअघि यो प्रतियोगिताअघि भएको चारदेशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
उसका लागि नसीम खुसीले १८ बलमा दुई छक्का र एक चौकासहित सर्वाधिक २४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कमलसिंह ऐरीले ३, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीले दुई/दुई, अविनाश बोहरा र जितेन्द्र मुखियाले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।
त्यस्तै, लोकश बलमे १६, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले १४, विवेक यादवले सात, कुशल भुर्तेलले पाँच, आसिफ शेखले चार, कमल ऐरीले एक र कप्तान सन्दीप लामिछानेले अविजित १६ रन बनाए ।
बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई, फय्याज बट र जिशान मकसूदले एक/एक विकेट लिए ।