निराजन सिर्पाली
रुकुम पूर्व २७, साउन ।
रुकुम पूर्वकी एक युवतीलाई केटाहरूको समूहले दुर्व्यवहार गरेको घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त घटना रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर -१, लुकूम गाउँको भएको खुलेको छ ।
याे घटना साउन चार/पाँच गते तिरको ‘लुकुम गाउँको झाँक्री मेलाको’ भए पनि अहिले सार्वजनिक भएको खुलेको हो ।
मगर थरकी ती युवती साथीसँग मेला हेर्न गएकी थिइन् । मेला भूमे गाउँपालिका वडानम्बर -१, मा लागेको थियो । त्यहाँ मेला हेरेपछि युवती पानी खानको लागि पल्लो गाउँ गएकी थिइन् । पानी खान जाँदा बाटोमा केटाहरूको समूहले घेरेर जबरजस्ती लैजान खोजेको पीडित युवतीको भनाइ रहेको छ ।
ती युवती अविवाहित हुन् । केटाहरूले छाड्छन् कि भनेर उनले आफू विवाहित भएको उक्त भिडियोमा बताएकी छन् ।
उनि भन्छिन् ‘‘यतातिर बिहे नभएकी चेलीहरू मन परेमा जबरजस्ती तानेर लैजाने गर्दा रहेछन् । त्यसैले मलाई पनि उनीहरूले लैजान्छन् कि भन्ने डर लाग्यो । यसैले बिहे भएको भनिदिएँ । तै पनि छाडेनन् । बल्लबल्ल भाग्नुपर्यो ।’’