७४ वर्षीय दलसुरको आरन दैनिकी
64x64
२०८० बैसाख २४ आइतबार प्रेसपालिका संवाददाता
171 Views

निराजन सिर्पाली
रुकुम पूर्व २४, बैशाख ।
सिस्ने गाउँपालिका वडानम्बर -४, दादिङको वडा कार्यालय नजिकै पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ७४ वर्षीय दलसुर कामी । अनुहार भरी  कालोमोसो लत्पतिएको, कपडाहरु आगोका झिर्काले जलेको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने दलसुर कामि फलामबाट बन्ने विवभन्न औजारहरु बनाउनुहुन्छ । प्राय जसो आरनमै दिन बिताउने कामीले कुटो, हँसिया, बञ्चरो, खुकुरी लगायतका थुप्रै सामान  बनाउनुहुन्छ ।

१०/१२ वर्षकौ उमेर देखि फलामका सामग्री बनाउन सिक्नुभएका उहाँले आरन व्यवसाय सञ्चालन गरेको ६२ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उहाँको आफ्नो दैनिकी अहिलेसम्म जसोतासो चल्दै आएको छ । उहाँले लामो समय बालीघरे रूपमा काम समेत गर्नुभयो । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नुपरेको नमीठो अनुभव पनि दलसुर सङ्ग छ । खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय हराउन थालेको छ । पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ ।

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको आरन व्यवसायीहरु बताउँछन् । पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अघि बढाउन सके स्थानीय स्रोत, साधनको प्रयोगबाट गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्न सक्ने उहाँहरुको भनाई छ । अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा र मेहनत अनुसारको उचित सम्मान तथा मुल्य नपाउँदा यो पेशा हराउँदै गएको दलसुर बताउनुहुन्छ ।

पहिले–पहिले गाउँसगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकोमा अहिले निकै कम भएको उहाँको भनाइ छ । उहाँले आफूले धेरै लामो समय सम्म बालीघरेका रूपमा काम गरेरै आफ्नो जिवन बितेको पनि बताउनुभयो । आफुले बालीघरे भएर काम गर्दा धेरै समस्याहरु भोग्नुपरेको दलसुरको लामो अनुभव रहेको छ । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको र उमेर बुढो भएपछि आफु एक्लैले यो काम गर्न नसकिने र अहिलेको पुस्ताले यस्तो काम गर्न नरुचाउने उहाँको भनाइ छ ।

७४ वर्षीय दलसुर भन्नुहुन्छ, “यो पेसा हाम्रो पुर्खादेखि गरिँदै आएको हो, मैले सानै उमेरदेखि अरुले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्दैनन्, पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके र युगसंगै यो पेशालाई आधुनिकीकरण  गर्न सके यसैबाट पैसा कमाउन सकिन्छ, आफुले धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ । यो पेसा हराउँदै जाने होकी भन्ने चिन्ता पनि छ ।”

बजारमा थुप्रै ‘रेडिमेड’ फलामका सामग्री पाइन थालेपछि गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेको हो । अहिले गाउँघरमा बालीघरे प्रथा बिस्तारै कम हुँदै गईरहेको सिस्ने -४, ढाँकाका टेकवहादुर कामीको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “बालीघरे भएर काम गर्दा साहुले जतिबेला काम लगाउँथे उतिबेला गर्नुपथ्र्यो, एक वर्षभरि काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको छानिछानि नराम्रा मकै दिइन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिएँ, अहिले त्यसरी काम गर्न बिस्तारै छाडेका छौं तर अब ज्यालामा काम गरेर पैसा कमाउने उमेर पनि छैन ।”

आरन व्यवसाय झन्झटिलो र थोरै कमाइ हुने हुँदा युवा पुस्ताले यो पेसा नअँगालेको आरण काम गर्दै आउनुभएको सिस्ने -४, दादिङका सर्बजित कामीले बताउनुभएको छ । यो काम गर्न हातमा सीप र धेरै समय लगाउनुपर्ने भएकाले अहिलेको पुस्ताले यो काम गर्न तर्फ ध्यान नदिएको उहाँले बताउनुभएको छ ।  तर यो पेशालाई कसैले नअङ्गाले दैनिक रुपमा प्रयोग हुने सामानहरु पनि बिस्तारै हराउँदै जाने आरन व्यवसायीहरुको भनाई रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News