रुकुम पश्चिम २४, फागुन ।
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा पँहुचको बिस्तार” भन्ने राष्ट्रिय नारा सहित देशभर विविध कार्यक्रम गरि ११३ औं नारी दिवस मनाईएको छ । यसैबीच रुकुम पश्चिमका विभिन्न पालिकाहरुमा पनि आज महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नारी दिवस मनाईएको छ ।
जिल्ला सदरमुकाम रहेको मुसिकोट स्थित बालमन्दिरमा समेत भव्य रुपमा नारी दिवस मनाइयो । नारी दिवसको अवसरमा नारी अधिकारका नारा बोकेका ब्यानर, प्लेकार्ड सहित र्यालीले बजार परिक्रमा गर्यो । अन्ततः सो र्याली बाल मन्दिरमा गई कोणसभामा परिणत भयो । कोणसभामा अधिंकाश महिला अधिकारकर्मी तथा राजनीतिक दलका नेतृहरुले महिला समानता र अधिकार लगायत विषयमा भाषण गरे ।
त्यस्तै दिवसको अवसरमा लोकगीत प्रतियोगिता समेत आयोजना गरियो । लोकगीतमा सहभागी महिलाले समान अधिकार र महिला हिंसा निर्मूल लगायत मनछुने भाकामा गित गाईरहे ।
तर विडम्बना कार्यक्रम स्थल नजिकै दिनभरी कतिबेला ढुङगा त कतिबेला गिट्टी बालुवासंग पसिना झार्न बाध्य थिइन मुसिकोट नगरपालिका -१०, कि टिका कंवर । जसलाई नारी दिवसमा सहभागी हुन मन थियो । तर उनलाई आजको नारी दिवसले छुन सकेन । उनलाई घरको चुल्हो बाल्न, छोरा छोरी पढाउन र आफ्नो पेट भर्नु छ । साँझको छाक टार्नु छ । काम नगरे पैसा पाइदैन । पैसा नभए खान मिल्दैन, कंवरले बताइन् ।
आजको नारी दिवसमा उनका साथीहरुले समेत जानुपर्छ भनेका थिए । तर आफू त्यहाँ गए घरमा छोराछोरी भोकै हुने उनको समस्या थियो । त्यसैले नारी दिवसले हामी जस्ता श्रमिकलाई कुनै परिवर्तन गर्दैन भन्दै उनले दुखेसो पोखिन् ।
त्यस्तै दिनभर काम नगरे के खाने ? भाषणले मात्र पेट भर्न सकिन्न भन्दै मुसिकोट नगरपालिका -१, कि गिता सार्कीले पनि दुखेसो सुनाइन् । आफ्नो मजदुरीको ज्याला मात्र घरको आम्दानीको स्रोत भएको उनको भनाई छ । आफू एक्लैले छोराछोरी पढाउनु छ । एक छाक भएपनि मिठो खुवाउनु छ । आफूहरुलाई पनि रमाउन मन लाग्छ । तर रहरले नपुग्ने उनको भनाइ छ ।
कंवर र सार्की जस्तै सयौं नारीलाई आजको दिवसले छुन सकेन । नेपालमा हरेक वर्ष थुप्रै महिला सङ्ग सम्बन्धित दिवस मनाउने गरिन्छ । तर वास्तविक महिलाका दिन कहिल्यै दिवसका रुपमा अग्र पंक्तिमा रहन सकेका छैनन् । सरोकारवाला र महिला अधिकारकर्मी औपचारिकतामा मात्रै सिमित बन्न पुगेका छन् । यसले पहुँचमा पुगेकालाई मात्र अवसर दिलाएको छ । तर दिनदुखी र ज्यालादारी गर्ने गरिब महिलालाई भने दिवस पनि विवश जस्तै बनेको छ । यसतर्फ सरकार र सरोकारवालाको ध्यान केन्द्रित हुन आवश्यक छ । तबमात्र वास्तविक नारीका दिन आउन सक्छन् ।
