
रुकुम पश्चिम २१, पुस ।
रुकुम पश्चिमका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा किसान मारमा परेका छन् । स्थानीय बजारीकरणको समस्या संगै जिल्ला बाहिरबाट आयातीत तरकारीको मूल्य प्रभावका कारण किसान मारमा परेका हुन् ।
केही वर्ष देखि यता रुकुम पश्चिमका किसानले उत्पादन गरेको तरकारीको बजार व्यवस्थापन र बिक्रीमा समस्या देखिएको किसान अमर घर्तीको भनाइ छ । हिजोआज सदरमुकाम मुसिकोट देखि गाउँका साना बजारसम्म जिल्ला बाहिरको तरकारी रातारात पुग्ने गरेकाले आफुहरु मारमा परेको उहाँले बताउनुभयो । यसकै प्रभावले यहाँका किसानले उत्पादन गरेको तरकारी र फलफूलको मूल्यमा समेत गिरावट आएको छ । जसका कारण तरकारी खेतीमै भविष्य देखेका किसानले वर्षेणी लाखौं रकम घाटा व्यहोर्नुपरेको छ ।
जिल्लामा अहिलेसम्म व्यवसायिक तरकारी किसानलाई लक्षित गरेर सदरमुकाम मुसिकोटमा मात्रै तरकारी संकलन केन्द्र निर्माण गरिएको छ । तर यहाँको संकलन केन्द्र समेत सञ्चालनमा आउन सकेको छैन । यसकै कारण जिल्लामा उत्पादित तरकारीको व्यबस्थापनमा समस्या देखिएको छ ।
कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले भने किसानले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि सबै पालिकामा तरकारी संकलन केन्द्र संचालन गरिने बताउनुभएको छ । त्यसका लागि सबै पालिकासंग समन्वय भईरहेको र आवश्यक पूर्वाधार निर्माण गरेर छिटोभन्दा छिटो किसानको समस्या हल गरिने उहाँको भनाई छ ।
