रुकुम पश्चिम १८, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ थर्पूमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पुजापाठ सुरु भएको छ । प्रत्येक वर्षको हरिबोधिनी एकादशीका दिनबाट पूर्णिमाको दिन सम्म भव्य रुपमा लाग्ने मेला तथा पूजापाठ आजदेखि सुरु भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र केसीका अनुसार आज बिहानैबाट शाईकुमारी मन्दिरमा पूजापाठ तथा दर्शन गर्ने भक्तालुजन र सर्वसाधारणको बाक्लो भीड लागेको छ । मनले चिताएको पूरा हुने धार्मिक जनविश्वास रहेको डिग्रे मन्दिरमा पूजापाठका लागि देशका विभिन्न ठाउँबाट सर्वसाधारणको उपस्थिति हुने गरेको छ ।
डिग्रे मन्दिरमा आजबाट चर्तुदर्शी सम्म शाईकुमारी भगवती देवीको दर्शन तथा पूजापाठ गर्ने परम्परा रहेको छ । पूर्णिमाको दिन भने डिग्रे मन्दिरमा हजारौंको उपस्थितिमा भव्य रुपमा मेला लाग्ने गर्दछ ।
मुसिकोटको उत्तर पूर्वमा अवस्थित शाईकुमारी देवी भगवती डिग्रे मन्दिरलाई एक ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले यस क्षत्रेको पवित्र धार्मिक स्थलका रुपमा लिने गरिन्छ । यो मन्दिर समुद्री सतहबाट करिव एक हजार ८ सय देखि दुई हजार २ सय मिटरको उचाईमा अवस्थित रहेको छ ।
मन्दिरमा दैनिक साँझ विहान विधिवत रुपमा पूजापाठ गर्ने चलन परम्परादेखि नै चल्दै आएको छ । मन्दिरमा पूजापाठ गर्न आउने श्रद्धालु भक्तजनले बोकाबली संगै नरिवल तथा अन्य फलफूल देवीको नाममा चढाउने गर्दछन् ।