मकैबालीमा क्षति पुग्दा किसान मर्कामा
64x64
२०७९ कार्तिक ०२ बुधबार प्रेसपालिका संवाददाता
178 Views

रुकुम पश्चिम २, कात्तिक ।
यसवर्षको मनसुन सकिनै लाग्दा गत असोज महिनाको तेस्रो साता हप्ता दिन सम्म परेको अविरल वर्षाले रुकुम पश्चिमका किसानको मकैबालीमा ठूलो क्षति पुर्याएको छ । पाकेको मकै भित्रयाउने समयमा हप्ता दिनको वर्षाले मकैबालीमा ठुलो क्षति पुर्याएको हो ।

वर्षा संगै आएको हावाहूरीले मकै बालीमा क्षति पुग्दा जिल्लाका अधिकांश किसानले चिन्ता थपिएको बताएका छन् । लगातारको झरीले मकै कुहिएर खेर जाँदा गतवर्षको तुलनामा यो वर्ष मकैमा ठुलो क्षति भएको मुसिकोट नगरपालिका ७, का कल्पना घर्ती मगरको भनाई छ ।

त्यस्तै सोही वडाका अर्का किसान भगवान घर्तीले पनि यसपटकको वर्षा र हावाहूरीले मकैबालीमा क्षति प¥याउँदा अब के खाने भन्ने पीरले पिरोल्न थालेको बताउनुभएको छ । यसबाट वर्षदिनको मेहनत हप्ता दिनमै चौपट भएको उहाँको भनाई छ । त्यस्तै नोक्सान भएको मकैबालीको व्यवस्थापनले समेत हिंउदे बाली लगाउन ढिलाई भएको र यसबाट किसानलाई नै घाटा भएको जिल्लाका अन्य किसानले बताएका छन् ।

तर स्थानीय सरकार र सरोकारवाला निकाय भने किसानले व्यहोर्नुपरेको क्षतिमा मौन बनेको किसानको गुणासो छ । हालसम्म किसानको मकैबालीमा के कति क्षति पुगेको छ भन्ने विषयमा जिल्ला स्थित सरोकारवाला निकायले अनुगमण तथा क्षतिको तथ्याङ्क संकलन गरेका छैनन् ।

रुकुम पश्चिममा मुख्य बालीको रुपमा मकै तथा गहुँ खेती उत्पादन हुने गर्दछ । कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीका अनुसार रुकुम पश्चिममा ८ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा मकै खेती गरिंदै आएको छ ।

वार्षिक रुपमा ३७ हजार बढी मेट्रिक्टन मकै उत्पादन हुने गरेको छ । तर यसपटक भने जिल्लामा मकै उत्पादन घट्ने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News