
रुकुम पश्चिम २, असोज ।
रुकुम पश्चिमको मुसिकोटमा आज विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो ।
बराहटाकुराबाट प्रभात फेरि कार्यक्रम सुरु भइ सेरिगाउँ स्थित सहिद स्मृति प्रतिष्ठानको हलमा पुगेर औपचारिक कार्यक्रम मार्फत दिवस मनाइएको आयोजकको भनाइ छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले रुकुम पश्चिममा आत्महत्याको अवस्था तथा रोकथामका उपायहरू सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको छ । उहाँले आत्महत्याको परिचय, लक्षण, कारण, त्रि-वर्षीय विवरण, आत्महत्या र अन्य अपराधको त्रि-वर्षीय तुलनात्मक विवरण प्रस्तुत गर्नुभयो । त्यस्तै पालिकागत रुपमा घटेका आत्महत्याका तुलनात्मक विवरण, आत्महत्या न्यूनीकरण गर्न देखिएका चुनौती र रोकथामका उपाय लगायत विषयमा प्रस्तुतीकरण राख्नुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व अर्थमन्त्री गोपाल शर्माले आत्महत्या रोकथामका लागि तिनै तहका सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभएको छ । त्यसका लागि समुदाय स्तर सम्म जनचेतनामूलक कार्यक्रम गर्न सरकारले विभिन्न योजना तर्जुमा गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले जिल्लामा भैरहेको विकास निर्माण जस्तै आत्महत्या रोकथामका लागि जिल्ला तह देखि वडा र टोल सम्म पुग्नुपर्ने सुझाव राख्नुभएको छ ।
हरेक वर्ष भदौ २५ गते विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिएको छ । तर गएको २५ गतेको अघिल्लो दिन बेलायती महारानी एलिजाबेथको निधनका कारण सरकारले ३ दिनको सार्वजनिक बिदा घोषणा गरेपछि पूर्वनिर्धारित कार्यकम सरेको थियो । सोही अनुसार रुकुम पश्चिममा आज मात्रै विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ ।
विश्व आत्महत्या रोकथाम दिवस कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय, आम सरोकारवाला, शिकक-विद्यार्थी पत्रकार लगायतको उपस्तिथि रहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजीब श्रेष्ठले गर्नुभएको हो ।
