
रुकुम पश्चिम २८, भदौ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले चाडपर्व नजिकै लाग्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न चौरजहारीमा बजार अनुगमन गरेको छ । बजार अनुगमन गर्ने नियमित कार्यक्रम अनुसार सोमबार चौरजहारी नगरपालिका -२ स्थित नयाँ बजारका विभिन्न पसलमा अनुगमन गरिएको हो ।
नगर कार्यपालिकाको अनुगमन टोलीले नयाँ बजारका २२ वटा पसलको अनुगमन गरिएको नगरपालिकाले बताएको छ ।
अनुगमनबाट खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्य सूची, सफाइ भए / नभएको हेरिएको छ । सो अनुगमनका क्रममा २६ पोका दालमोट र ६ वटा जुस म्याद नाघेको अवस्थामा भेटिएका छन् । अनुगमनका टोलीले व्यवसाय दर्ता र नवीकरण नगरेका पसलबाट दर्ता नवीकरण गरेर २१ हजार ७ सय राजश्व समेत असुल गरेको छ ।
गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि नगर कार्यपालिकाको कार्यालयले बजार अनुगमनलाई नियमित गर्दै आएको छ ।
