उत्पादित आलुको बजार व्यवस्थापन नहुँदा किसान समस्यामा
64x64
२०७९ भाद्र १५ बुधबार प्रेसपालिका संवाददाता
194 Views

रुकुम (पूर्व) १५, भदौ ।
रुकुम (पूर्व) मा उत्पादित आलुले बजार नपाउदा किसान समस्यामा परेका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका प्रत्येक नागरिकको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । त्यस्तै बारीमा पनि खन्ने आलु आधा भन्दा बढी बाकी नै छ । तर अहिलेसम्म एक किलो आलु पनि बिक्रि गर्न नसकिएको त्यहाँका किसानले बताएका छन् ।

अहिले पुथाउत्तरगंगा गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगाएतका अधिकांस ठाउँमा फलेको आलु बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीको रुपमा उत्पादन हुने आलुले बजार नपाउदा आलु कुहिन्छ की भन्ने पिरले आफुहरुलाई सताएको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० की स्थानीय एवम् चेबाङ कृषक समुहकी सदस्य सातमाया बुढाले बताउनुभयो । त्यहाँ चक्दाबन्दि कार्यक्रममार्फत समुहले धेरै आलु उत्पादन गरेपछि बजारको व्यवस्थापन हुन नसक्दा आफुहरु समस्यामा परेको बुढाले बताउनभयो । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर आलु राख्नुपर्ने बाध्याता रहेको बुढाले बताउनुभयो ।

बर्खाको समय भएको कारण पानी पर्ने र बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिने डर उहाँमा छ । यस्तै बारीमै खुला रुपमा राखेको आलुको स्वाद पनि बिग्रने उहाँको भनाई छ । “अहिले पुथा उत्तरगंगा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।” बुढाले भन्नुभयो, “आलु खनेर बारीमा थुपारेका छौ, उत्तरगंगा नदिमा पुल नहुँदा पनि हामिले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पुर्याउन सकेका छैनौ ।” उत्तरगंगा नदिमा पुल नहुँदाको कारण गाडी वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफुहरुले आलु बोकेर उत्तरगंगा नदी पार गर्न नसक्दा आलु घर र बारीमै थन्क्याएर राख्नुपरेको बुढाले बताउनुभयो ।

यस्तै गाउँपालिकाको ११ नम्बर वडा दमचनका नमुना कृषक समुहका सचिव हृदय बुढाले दमचनमा उत्पादन भएको आलुले बजार नपाएको गुनासो गर्नुभयो । दुख गरेर गाउँबासीले लगाएको आलुले बजारको व्यवस्थापन गर्न नसक्दा कतीपयको आलु कुहिन सुरु गरेको उहाँको भनाई छ ।

भूमे गाउँपालिका वडा नम्बर ९ का किसान धनबहादुर ओलीले पनि आफुले उत्पादन गरेको आलुले बजार नपाएको गुनासो गर्नुभएको छ । आफुले उत्पादन गरेको र गाउँका अनय मानिसले उत्पादन गरेको सबै आलु घरमै थन्क्याएर राख्दा आलु कुहिन थालेको उहाँको भनाई छ । आलु कुहिन सुरु गरेको र बजार व्यवस्थापनको सुरसार केहि नदेख्दा किसानहरुमा निराशा छाएको उहाँले बताउनुभयो । यस्तै आलु ब्लक कार्यक्रम सञ्चालन भएको भूमे गाउँपालिकाको ७ नम्बर वडामा उत्पादीत आलु पनि घरमै थन्किएको छ । बिउ अभावको बेलामा खोजीखोजी लगाएको आलुले उत्पादन राम्रो दिएको भएपनी बजारको व्यवस्थापन हुन नसक्दा विगतका वर्षहरुदेखि नै आफ्नो उत्पादन खेर गइरहेको किसानहरुले बताउदै आएका छन् । जिल्लामा कतैपनी संकलन केन्द्र नहुँदा उत्पादनलाई पनि व्यवस्थित रुपमा राख्न नसकिएको किसानहरुले बताएका छन् ।

एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) का कार्यालय प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भएता पनि किसानले मुल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताउनुभएको छ । किसानले आफुले उत्पादन गरेको आलुको मुल्य बजारको मुल्य भन्दा चर्को भन्ने गरेको कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News