रुकुम पश्चिम १४, भदौ ।
हिन्दु नारीहरूको पर्व हरितालिका तीज आज देशभर मनाईंदैछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । आजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने जनविश्वास रहिआएको छ ।
सत्य युगमा आजकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । हरितालिका पर्वको अघिल्लो दिन राति दर खाएर आज तीजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ ।
यस दिन महिलाहरू आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका पर्वको अवसरमा महिला दिदिबहिनीलाई तीजको शुभकामना दिनुभएको छ ।
