म १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएँ । म जहिलेदेखि महिनावारी भएँ, त्यो दिनदेखि आजसम्म महिनावारी हुँदाको कुनै रमाइलो वा भनौँ सुखद् अनुभव मसँग छैन । महिनावारी हुने दिन आउँदैछ भनेर सम्झिँदा मात्रै पनि, नमज्जा लाग्छ । महिनावारी नै हुन नपरेपनि हुन्थ्यो भन्ने हुन्छ । तर आफूले सोचेजस्तो हुँदैन ।
जब मलाई विवाह गर्नुअघि महिनावारी हुँदा पेट दुख्थ्यो, आमा, हजुरआमा, काकीहरूले “बिहे गरेपछि पेट दुख्न छोड्छ” भन्नुहुन्थ्यो । किन त्यस्तो हुन्छ होला भन्ने लाग्थ्यो । जिज्ञासा मेटाउन उहाँहरूसँग प्रश्न सोध्दा, जवाफ दिनुको सट्टा उल्टै हाँसेर मलाई अप्ठेरो पारिदिनु हुन्थ्यो । म उत्तर विहीन हुन्थेँ । अनि बिहे भएपछि त पेट दुख्दैन, महिनावारी हुँदा गाह्रो हुँदैन भन्ने सम्झेरै मख्ख पर्थेँ ।
मेरो बिहे भयो । तर, महिनावारी हुँदा पेट दुख्न भने ठीक भएन । मलाई पहिला जसरी नै पेट दुख्ने, वाकवाकी आउलाजस्तो हुने, महिनावारी अवधिभर असजिलो हुने भइनै रहन्थ्यो । त्यतिबेला पनि मेरो आमा, हजुरआमाहरूले “एउटा बच्चा पाएपछि पेटसेट दुख्न छोड्छ, अनि बल्ल आनन्द हुन्छ”, भन्नुहुन्थ्यो । त्यतिबेला उहाँहरूले भन्नुभएको कुराको अर्थ मनमनै आफैँले लगाएँ, “सायद बच्चा जन्मिएपछि शरीरको केही कुरा बच्चा जन्मिने प्रक्रियामा बाहिर निस्किन्छ होला, अनि पेट दुख्न छोड्छ होला ।”
तर आमा, हजुरआमाको कुरा र मेरो अनुमान दुवै गलत साबित भए । मेरो पहिलो सन्तान जन्मिसके पछि म महिनावारी भएँ, मलाई उही पुरानै समास्या दोहोरिए । दोस्रो सन्तान जन्मिसक्दा पनि त्यो क्रम उस्तै नै छ ।
अहिले म ३२ वर्षकी भएँ । विगत १८ वर्षदेखि महिनावारीको समयमा मैले भोग्ने पीडा उस्तै छ । यो बीचमा मैले चिकित्सकसँग, “किन यस्तो हुन्छ रु” भनेर नसोधेको पनि होइन । तर, यो प्राकृतिक हो, विभिन्न घरेलु विधि अपनाउनू, दुखाइ कम गर्ने औषधि खानू भन्ने भन्दा अन्य विकल्प मैले पाएकी छैन ।
दुखाइ कम गर्न विभिन्न घरेलु विधि पनि अपनाउँछु । ती विधिले केही राहत दिएपनि, पूर्ण रूपमा ठीक भने हुँदैन । महिनावारीको समयमा कतै हिँड्नुपर्दा, अफिसको मिटिङ हुँदा, घरमा कोही पाहुना आउँदा म दुखाइ कम गर्ने औषधि पनि खान्छु । तर, हरेक महिना औषधि नखाऊँ भनेर सचेत हुँदै दुखाइ कम गर्न घरेलु विधिमा नै जोड दिन्छु ।
महिनावारीको समयमा मलाई पेट मात्रै दुख्दैन । पेट दुख्नुका साथसाथै, शरीर आलस्य हुने, ढाड दुख्ने, केही काम गर्ने जाँगर नचल्ने हुन्छ । आजसम्म कुनै महिनावारी छैन, जसमा मलाई गाह्रो नभएको होस् । महिनावारीको ३र४ दिन मात्रै नभइ, महिनावारी सुरु हुनुभन्दा अगाडि देखि नै मलाई विभिन्न समस्या देखिन थाल्छ । मुड स्विङ त झन् एकदमै धेरै हुन्छ ।
घरका सदस्यलाई महिनावारी हुने बेलाको पीडा बुझाउन सके पनि, महिनावारी सुरु हुनुभन्दा केही दिन अघिदेखि शरीरमा आउने असहज परिवर्तन, मुड स्विङको बारेमा बुझाउन गाह्रो हुने रहेछ । हिजोआज त महिनावारी हुनुभन्दा अगाडिको दुखाइ, स्वास्थ्य समस्या अर्थात प्रि मेन्स्ट्रुअल सिन्ड्रोम ९पीएमस०को बारेमा बिस्तारै कुराकानी, बहस हुन थालेको छ । त्यस्ता कुराकानी, बहसबारे परिवारका सदस्यलाई बुझाउन प्रयास गरिरहेकी छु । उहाँहरूले पनि बिस्तारै बुझ्दै हुनुहुन्छ ।
तर, कति महिलालाई पीएमस पनि हुन्छ भनेर थाहा होला ? कति महिलाले यसबारे थाहा भएरै पनि आफ्ना परिवारलाई बुझाउन सकेका होलान् ? कति महिलाका परिवारले बुझेर महिनावारीको अवधिलाई सहज बनाउन सहयोग गर्ने, साथ दिने गरेका होलान् ?
त्यही भएर मलाई के लाग्छ भने, हामीले महिनावारीका बारेमा अझै धेरै छलफल, कुराकानी, सचेतना कार्यक्रम गर्न एकदमै आवश्यक छ । महिनावारीका बारेमा कुराकानी हुँदा अन्धविश्वास, भ्रम र छोइछिटोका कुरा मात्रै धेरै उठ्ने गर्छ । तर, महिनावारीको समयमा महिलालाई हुने शारीरिक, मानसिक स्वास्थ्य समस्याका बारेमा खासै धेरै बहस हुँदैन । शहरी क्षेत्रमा यस्ता बहसको सुरुआत बिस्तारै हुने गरेको भए पनि, ग्रामीण भेगका महिलाहरू यसबारे खासै जानकार छैनन् । फेरि, उनीहरूलाई मात्रै जानकार बनाएर मात्रै हुँदैन । उनीहरूका श्रीमान्, पार्टनर, परिवारका सदस्य, सबैले यसको बारेमा बुझ्न र महिनावारी हुनु अगाडिदेखि एउटी किशोरीरमहिलालाई साथ, सहयोग गर्न आवश्यक छ । तब मात्रै महिलाले महिनावारी मर्यादित भएको महसुस गर्न सक्छन् । नाम प्रकाशित नगर्ने सर्तमा, नुवाकोट ।https://gulabisambad.com/