
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व आज रक्षाबन्धन पनि हो । यस पर्वलाई श्रावण पूर्णीमाका दिन अध्यायोपाकर्म वेदारम्भ कर्म गरी मनाउने गरिन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूणिर्मा पनि भन्ने गरिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने , त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यसपछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरुलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् ।
समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् । वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।
आजको दिन खुसीयालीको चाड विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन । अनि दिदि बहिनी हुनुहुन्छ भने आफ्ना दाजूभाइहरूका लागि राखी खरिद गर्नुभयो त ! अनि दाजूभाइहरुले भने आफ्नी दिदिबहिनीहरूका लागि के कस्तो उपहार दिने तरखर गर्नुभएको छ ।
दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, “रक्षा” र “बन्धन”। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ “सुरक्षाको गाँठो” हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफुले दिदीबहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदिबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसिको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनको धागो बाधिदिने चलन छ। त्यसैगरि दाजुभाइले पनि दिदिबहिनिलाई उपहार दिन्छन् र आफ्ना दिदिबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।
