रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बरानेटीका कर्णबहादुर खड्काको घर आँगनमै पानी भर्ने सपना ६५ बर्षपछि पुरा भएको छ । स्थानीय सिमतारेखोला ग्रामिण सौर्य खानेपानी तथा सरसफाइ आयोजना मार्फत लिफ्ट प्रविधिबाट घरमै पानी आएपछि खड्कामा खुशिको सीमा छैन् ।
आँगनमै खानेपानी पुगेपछि ६३ वर्षिय शरविर ओली पनि मख्ख हुनुहुन्छ । जिन्दगीभर गाउँमुनिको पँधेरीखोलाबाट पानी बोक्दा बोक्दै कपाल झरिसकेको दुःख सम्झिदै अब भने छोरा नातीले खानेपानीको समस्या झेल्नु नपर्ने अवस्थाले उहाँलाई राहातको सास फेर्न मद्दत पुगेको छ ।
नजिकै खानेपानीको सुविधा नहुँदा बिहान झिसमिसेमै स्थानीय खानेपानीको जोहोमा निस्किनु पथ्र्यो । कुनै दिन त पानी भर्ने पालो कुर्दा कुर्दै दिउँशो भइसक्थ्यो । पानीको जोहोमा निस्किएका कयौं बालबालिकाहरुको विद्यालय छुट्थ्यो । पानीको जोहोकै लागि धेरै स्थानीयले बिचमै विद्यालय छोड्नु परेको नमिठो अनुभव स्थानीय ५४ बर्षिय टिके ओलीको छ । खानेपानीको अभावका कारण विभिन्न अपहेलना सहनुपरेको समेत स्थानीय सम्झिन्छन् । कुनै समय खानेपानीको अभाव भएको ठाउँमा छोरी दिनुहुन्न भन्ने अन्य ठाउँका मान्छेको दुव्र्यवहार स्थानीय रामबहादुर ओलीलाई अहिलेजस्तै लाग्छ ।
अव भने बरानेटीवासीका दुःखका दिन गएका छन् । नत अव बिहान ३, ४ बजे नै उठेर पानी भर्न जानुपर्छ नत बालबालिकाले पानीको जोहो गर्नका लागि बिद्यालय गुमाउनुपर्ने छ । घर आँगनमै रहेको धारामा पानी आउन थालेपछि स्थानीयले सारा दुःख भुलेको स्थानीय रीमा ओली बत्ताउनु हुन्छ । बरानेटीबासीले सुख मनले पानी खान नपाएको पिडा भिमा ओली बिर्सिन सक्नुहुन्न । हाल भने स्थानीयले प्रयोग गरी बचेको पानी करेसाबारीमा लगाएका छन । खानेपानीका साथै कपडा धुन, नुहाउन, गाईबस्तुलाई खुवाउन तथा अरू कामका लागि सजिलो भएको छ ।
बरनेटीका १ सय १० घरधुरीले खानेपानी समस्याबाट मुक्ति पाएका छन । पानी आएपछि दैनिकि सहज भएको र पानीको लागि पिर लिईराख्नुपर्ने बाध्यता हटेको यमुना खड्का बताउनुहुन्छ। पहिलो पटक गाउँमा खानेपानी पुगेपछि त्यसको अधिक प्रयोगमा ध्यान दिन थालिएको छ । प्रयोग गरिसकेको फोहोर पानीलाई समेत पोखरी बनाएर सदुपयोग गर्ने र घरघरमा करेसाबारी स्थापना गर्ने नीति ल्याउने उपभोक्ता समितिका सदस्य शेरबहादुर ओली बताउनुहुन्छ ।
सिमतारेखोला ग्रामीण सौर्य खानेपानी तथा सरसफाइ आयोजना मार्फत लिफ्ट प्रविधिबाट बरानेटी, रूपारी, चौखे, पाल्लालेक, दमार, टोट्के, सान्चौर लगायत गाउँमा खानेपानी सुविधा पुर्याइएको हो । गाउँभन्दा तलको सिमतारेखोलाको पानी गाउँमा तानिएपछि खानेपानीको समस्या हल भएको हो ।
डेढ करोड बजेटबाट गाउँमा खानेपानी आएको हो । जसमा उपभोक्ताले ३५ प्रतिशत बराबरको श्रमदान गरेका छन । खानेपानी निर्माण उपभोक्ता समितिका सचिव टीकाराम ओलीले बत्ताउनुभयो । त्रिवेणी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी सिइएचपि, कार्यक्रम पहाडी साना किसानका लागी अनुकुलन आयोजना जिल्ला समन्वय इकाई (आशा) परियोजना, १० नम्बर वडाको संयुक्त लगानी र स्थानीय समुदायको ३५ प्रतिशत श्रम सहित एक करोड पचास लाख लगानीमा आयोजना सम्पन्न भएको हो ।