प्रेसापालिका संवाददाता : रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा उपभोक्ता हित सम्बन्धी सचेतना, अन्तरक्रिया तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम (पश्चिम)को अयोजनामा उपभोक्ता हित सम्बन्धी सचेतना, अन्तरक्रिया तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम यहि फागुन १ गते आइतबार नगरपालिकाको वडा नम्बर ३ मा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको सभाहलमा सम्पन्न भएको बताइएको छ । उपभोक्ताहरुलाई सचेत गराई उनिहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आर्थिक बर्ष २०७७।०७८ मा सञ्चालित बार्षिक कार्यक्रम अनुसार कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बर्षभरीकै उत्कृष्ट उद्यमीको रुपमा छनौट हुनु भएकी हिताङ्गी छाला जुत्ता उद्योगकी सञ्चालक बिर्मा सार्कीलाई सम्मान गरिएको छ । रु. एक लाख नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहन कुमार केसीले जानकारी दिनुभयो । नगर प्रमुख देबीलाल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश लेखा इकाई कार्यालय प्रमुख यम बहादुर पुन, रुकुम उद्योग बाणिज्य संघका संयोजक पहल बहादुर खड्का, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न उद्योगी ब्यबसायीहरुको सहभागिता रहेको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सुचना अधिकारी धरणीधर केसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सह लेखापाल मुकुन्द केसीले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहन कुमार केसीले गर्नु भएको थियो ।
