संवाददाता : रुकुम पश्चिममा कोरोनाको कारण करिव १ महिना सम्म बन्द रहेका बिद्यालयहरु फागनु १ गते देखि खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले आज एक आदेश जारी गर्दै फागुन १ गते देखि बिद्यालय संचालन गर्न भनेको छ । सरकारको निर्णय अनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा बिद्यालय खोल्न आदेश गरेको छ । आज जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एक आदेश जारी गर्नुभएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै १ गते देखि बिद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्न भनिएको छ । बिद्यालय संचालन गर्दा भने बिद्यार्थिको हकमा केहि नियम लागु हुने छ ।
१२ वर्ष भन्दा माथिका बिद्यार्थिको हकमा नियमित र १२ वर्ष भन्दा तल उमेरका बिद्यार्थिको हकमा भने आलोपालो दिनमा कक्षा संचालन गर्न भनिएको छ । त्यस्तै खेलकुद प्रतियोगिता गर्दा कुल दर्शक क्षमताको ५० प्रतिशत दर्शक रहने गरि प्रतियोगिता संचालन गर्न पाईने । सभा, जुलुस, गोष्ठि, भेला, मेला, जात्रामा भने अर्को सुचना नआउन्जेल सम्मको लागि प्रतिबन्ध लगाईएको सुचनामा उल्लेख गरिएको छ ।
त्यस्तै बिभिन्न कार्यालयमा सेवा लिन जादा, सार्वजनिक स्थलमा प्रबेश गर्दा खोप कार्ड पनि अनिवार्य गरिएको छ ।।