रुकुम पश्चिम २७, पुस ।
जाजरकोट भूकम्प पछि रुकुम पश्चिमका झण्डै २३ हजार पशुपन्छीको उपचार गरिएको छ । प्रभावित क्षेत्र आठबिसकोट र सानीभेरीका विभिन्न वडामा पशु स्वास्थ्य शिविरको आयोजना गरेर २३ हजार पशुपन्छीको उपचार गरिएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार हालसम्म ६ वटा शिविर सञ्चालन गरेर पशु विज्ञ सहित २० जनाको टोलीले पशुपन्छीको उपचार गरेको छ । जसमध्ये गाइगोरु, भैंसी, भेडा बाख्रा, कुखुरा, हाँस, कुकुर लगायत पशुपन्छीको उपचार गरिएको छ ।
उक्त पशु स्वास्थ्य शिविर मार्फत पशु चौपायाका लागि मिनरल मिक्स भिटामिन, एन्टिबायोटिक, जुका विरुद्ध औषधि लगायत ७१ किसिमको औषधि पशु किसानलाई नि:शुल्क उपलब्ध गराइएको छ ।
त्यस्तै शिविर सञ्चालनकै क्रममा तीनसय ९१ कुकुरलाई रेबिज विरुद्धको खोप र ८३ वटा पशुको बन्ध्याकरण पनि गरिएको पशु अस्पतालले जनाएको छ ।
भूकम्प लगत्तै सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरबाट हालसम्म प्रभावित क्षेत्र आठबिसकोट र सानीभेरीका नौसय ६७ पशु किसान लाभान्वित भएका छन् । कार्यालयले जिल्लाका बाँकी पालिकामा पनि पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको बताएको छ ।
भूकम्पबाट रुकुम पश्चिममा मात्रै एकहजार २ सय पशु चौपायाको मृत्यु भएको थियो । त्यस्तै नौ सय ६५ गोठ भत्किंदा ३४ करोड पशु धनको क्षति भएको पशु अस्पतालको भनाइ छ ।