रुकुम पश्चिम २०, कात्तिक ।
रुकुम पश्चिममा गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावितलाई राहत वितरण गर्ने काम जारी रहेको छ । भूकम्पबाट सबैबाट बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा आइतबारदेखि राहत वितरणको काम सुरु गरिएको हो ।
स्थानीय सरकारका जनप्रतिनिधिले प्रभावित क्षेत्रमै पुगेर भूकम्प पीडितलाई एकीकृत प्रणाली मार्फत राहत वितरण गरिरहेको बताएका छन् । आठबिसकोट नगरपालिकाले अहिलेसम्म वडानम्बर -११, १२, र १४ का ५४ घरधुरीलाई राहत वितरण गरिएको बताएको छ । बाकी वडामा समेत आज बिहानैबाट राहत वितरण सुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले बताउनुभएको छ ।
त्यस्तै सानीभेरी गाउँपालिकाले पनि आइतबार ३ सय ५० घरपरिवारलाई प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ । पालिकाले राहत वितरणलाई आजपनि निरन्तरता दिने बताएको छ ।
दुईवटै पालिकाले भूकम्प प्रभावितलाई त्रिपाल, म्याट, टेन्ट, दाल चामल, तेल, नुन लगायत सामग्री राहतको रूपमा वितरण गरेका छन् ।
गत शुक्रबारको भूकम्पबाट रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । २ सय ५० बढी घाइते भएका छन् ।