रुकुम पश्चिम ४, कात्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट भएका छन् । पाँच दलिय गठबन्धनले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिवद्धता सहित एकजुट भएका हुन् ।
प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र र दुई प्रदेश सभा निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि गठबन्धन दलहरुमा एकता हुन सकेको थिएन । तर जिल्लाको विकास र सम्वृद्धिका लागि गठबन्धन दलहरुबीच एकता र सहकार्य आवश्यक रहेको भन्दै अन्ततः दलहरु सहमतिमा जुटेका छन् । गठबन्धनले प्रतिनिधि सभातर्फ साझा उम्मेदवारका रुपमा अर्थमन्त्री जनार्दन शर्मा लाई सघाउने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) तर्फ माओवादी केन्द्रकै महेन्द्र केसी र राजकुमार शर्मालाई गठबन्धन दलहरुले सघाउने निणर्य गरिएको निर्वाचन प्रचार–प्रसार समितिका संयोजक गोपाल जि जङ्ग शाहले बताउनुभएको छ ।
पाँच दलिय गठबन्धनले समानुपातिक तर्फ भने आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मत माग्ने सामूहिक अपिल गरेका छन् । गठबन्धनका दलले आजदेखि मंसिर १ गते सम्म जिल्लाभर निर्वाचन अभियान सञ्चालन गर्ने भएका छन् ।