अविरल वर्षाका कारण आईतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ ।जिल्लाको आठबीसकोटनगरपालिका-१४, पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको हो । पहिरोमा पुरिएकी एक बालिकाको भने जीवितै उद्धार गरिएको छ । घटनास्थलबाट आठबीसकोट नगरपालिका वडानम्वर -१४, का वडाध्यक्ष हुकुम पुनका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका -१, मैदैकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहेका छन् । पहिरोमा आमा र बहिनीसँगै परेकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ ।
आईतबार बिहान जाजरकोटको नलगाड नगरपालिका -१, स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए । सोहि समयमा भवन माथीबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन् । नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायिक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडाध्यक्ष पुनले बताउनुभयो । घाईते तिर्सनालाई एम्बुलेन्स मार्फत अस्पताल लिईएको छ ।
पहिरोले सोहि ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेको छ । त्यस्तै जाजरकोट -डोल्पा राजमार्ग समेत अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकि रहेको छ ।
त्यस्तै आईतबार नै जिल्लाको सानीभेरी गाउँपालिका वडानम्वर -५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा वडानम्वर – ३, का दलबीर गुरुङ बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अन्दाजी ७० बर्षिय गुरुङलाई खोलाले बगाएको हो ।