नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सिस्ने गाउँपालिका–५ स्थित बिएलबी होटलको सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
प्रथम अधिवेशनले सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा सिस्ने गाउँपालिका–६ का दामोदर गौतम, उप–सभापतिमा पुथाउत्तरगंगा गाउँपालिका–८ का टेकप्रसाद समाल र सिस्ने–५ का शिल्पा पौडेल निर्वाचित हुनु भएको छ । यसैगरी मन्त्रीमा सिस्ने–५ का लोकेन्द्रबहादुर बुढाथोकी, उप–मन्त्रीमा सिस्ने–६ का भिमकान्त उपाध्याय (दारी बा), कोषाध्यक्षमा सिस्ने–५ का वामदेव गौतम, उप–कोषाध्यक्षमा सिस्ने–३ का कमानसिङ खत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ । ७ जना पदाधिकारी १० सदस्य गरी १७ जनाको कार्य समिति निर्माण गरिएको छ ।
२०६५ साल देखि २०७४ साल सम्म रेडक्रस सोसाइटी रुकुमकोट उपशाखाको रूपमा रहेको थियो । पछि साविक रुकुम जिल्लालाई पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरेपछि जिल्लामा २०७५ साल लोकेन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । त्यसपछि २०७७ पुस महिनामा मोहनबहादुर केसीको संयोजकत्वमै तदर्थ समिति पुनः गठन गरिपछि हाल सम्म केसीकै नेतृत्वमा रहेको तदर्थ समितिले नियमित कामकाज गर्दै आएको थियो ।
आज रेडक्रसको प्रथम अधिवेशनको बन्द सत्रबाट पहिलो पटक नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाले पूर्णता पाएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा तदर्थ समितिका संयोजक मोहनबहादुर केसीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री लालप्रसाद पंगेनी, जिल्ला अधिवेशनका निर्वाचन अधिकृत गुमनराज तुलामीको विशेष आतिथ्यता रहेकोमा जिल्ला स्थित विभिन्न व्यक्तित्वहरूको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रम सञ्चालन तदर्थ समितिका सदस्य भुपेन्द्र आचार्यले गर्नु भएको थियो ।।