नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पार्टीका पालिका इन्चार्ज तोकेको छ । जिल्ला सदरमुकाम खलंगामा बसेको प्रथम बैठकले सबै पालिकामा पार्टी इन्चार्ज तोकेको हो । जिल्ला संयोजक गोविन्द रोकाका अनुसार मुसीकोट नगरपालिकामा बुद्धिप्रसाद गौतम, चौरजहारी नगरपालिकामा पुष्प वादी , आठबीसकोट नगरपालिकामा गोर्खबहादुर केसी ,सानीभेरी गाउँपालिकामा विर्खबहादुर विष्ट , बाँफिकोट गाउँपालिका इन्चार्ज तोकिन बाँकी रहेकाे छ । त्रिवेणि गाउँपालिका इन्चार्जमा गणेश केसीलाई तोकिएको छ । अन्य नेताहरुको जिम्मेवारी यथावत रहेको र सबै नेताहरु आ–आफ्नो पालिकामा निर्वाचन केन्द्रीत कार्यक्रममा जुट्ने निर्णय भएको पनि संयोजक रोकाले बताउनुभयो ।
बैठकले हरेक पालिकाबाट ३/३ जनालाई जिल्ला समन्वय समितिमा मनोनित गर्ने निर्णय गरेको संयोजक रोकाले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सदस्य तथा प्रमुख अतिथि राजकुमार शर्माले समग्र राजनैतिक, सांगठनिक परिस्थितिबारे प्रशिक्षण मन्तव्य राख्नुभयो । पार्टीका सम्पूर्ण गतिविधिहरुलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिनुभएको छ ।
निवर्तमान जिल्ला संयोजक गोपाल शर्माले आगामी स्थानीय निर्वाचनमा पार्टीको श्रेष्ठता कायम हुने गरी एकतावद्ध भएर काममा लाग्न आग्रह गर्नुभयो । बैठकमा केन्द्रीय सदस्यहरु लुम्बिनी गौतम र लक्ष्मी पुन, केन्द्रीय सल्लाहकार मिनबहादुर ओली, लगायतको विशेष उपस्थिति रहेको थियो ।