
प्रेसपालिका संवाददाता
अनेरास्ववियू (क्रान्तिकारी) बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको तेस्रो बैठक सम्पन्न भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) बाँफिकोटका अध्यक्ष टेकराज रसाइलीको अध्यक्षतामा बसेको बैठकले यहि फाल्गुन १६ गते सहिद सप्ताहको अवसर पारि आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको निर्णय गरेको छ । बैठकले संगठनको कार्यालय स्थापना गर्ने र फागुन ८ गतेबाट गाउँपालिकाका सबै माविहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
‘गणतन्त्र स्थापनामा जनयुद्धको भूमिका’ विषयक मावि स्तरीय वक्तृत्वकला र आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिने जनाईएको छ । हाजिरि जवाफ प्रतियोगितामा प्रथम हुने विद्यालयले ४ हजार नगदको साथमा प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेले ३ हजार ५ सय र तेस्रो हुने विद्यालयले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छ ।
वक्तृत्वलामा प्रथम हुनेले नगद ३ हजार, दोस्रोले नगद २ हजार ५ सय र तेस्रो हुनेलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । कार्यक्रम विरेन्द्र माविमा हुनेछ ।
बैठकमा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी, अनेरास्ववियू क्रान्तिकारीका कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटा, प्रदेश सदस्य भूपाल बुढा, प्रेमकुमार पुन, कर्णाली प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज किरण विक, केन्द्रीय आयोगक सदस्य समकृति पुन लगायतको उपस्थिति रहेको थियो ।
