निराजन सिर्पाली
रुकुम पूर्व १०, माघ ।
वाइसीएल नेपाल रुकुम पूर्वका जिल्ला संयोजक नामेन्द्र सुनारले १० वर्षीय जनआन्दोलनमा दलित समुदायको महत्त्वपूर्ण योगदान रहेको कुरा स्मरण गर्दै पछिल्लो समयमा दलित समुदायका नेता कार्यकर्तालाई विभिन्न बहानामा पार्टी भित्र पन्छाउने काम भइरहेको बताउनुभएको छ ।
मंगलबार नेपाल दलित मुक्तिमोर्चाको दोस्रो भूमे गाउँ सम्मेलनलाई सम्बोधन गर्दै वाइसीएल संयोजक सुनारले अब पार्टीले आगामी निर्वाचन सम्म पनि दलित समुदायलाई प्रयोग मात्रै गरे दलित आन्दोलन मिसन ८४ मा फरक ढङ्गले अगाडि बढ्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “अरु वेला नेताहरुले दलित समुदायको जनयुद्धमा र पार्टी भित्र महत्त्वपूर्ण योगदान छ भनेर उचाल्ने जव निर्वाचन तथा पार्टी को सम्मेलन वा अरु कुनै लाभ लिने समयमा बहानाबाजी गरेर समुदायलाई पछि पार्ने काम गरिएको छ यो कारालाई हामी युवा पंक्तिले नजिक बाट नियालेका छौँ । अब त्यसरी चल्दैन अब आउने निर्वाचनमा हामी अलि फरक ढङ्गबाट जान बाध्य हुनेछौं” ।
सुनारले थप्नुभयो “फेरि हाम्रा नेताहरुले भन्नुहुन्छ दलितका नेताहरु दलजित सेर्पाली मन्त्री हुनुभयो, सुबोध सेर्पाली वाइसीएलका केन्द्रीय अध्यक्ष हुनुहुन्छ त्यस्तै अरु दलितका नेताहरू पनि जिम्मेवारी पद सम्हालेर काम गरिरहनुभएको छ । के उहाँ हरु दलित समुदायको नेता भए पछाडिको पुस्ताले उहाँहरु नेतृत्वमा हुनुहुन्छ भनेर अरु कामका आधारमा माथि नजाने” भन्दै प्रश्न गर्नुभयो ।
सुनारले जति दलित समुदायका नेताहरू हुनुहुन्छ उहाँहरु १० वर्षीय जनआन्दोलनको नेतृत्व गरेको तथा पार्टी भित्र महत्त्वपूर्ण योगदान गरेका कारण उहाँहरु त्यो ठाउँमा पुगेको तर्क गर्दै उहाँहरुलाई केवल दलितको नेताको दर्जा पार्टीले दिने गरेकोमा आफुहरुको आपत्ति रहेको बताउनुभएको छ ।