रुकुम पश्चिम २६, मङ्सिर ।
पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रका जनताको जीवन बदल्ने गरि अभियान चलाउन आवश्यक रहेको बताउनुभएको छ । प्रेस सेन्टर रुकुम पश्चिमले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटमा बोल्दै भूकम्प प्रभावितको उत्साह र मनोबल बढाउन अर्को एक अभियान चलाउन आवश्यक रहेको बताउनुभएको हो ।
भूकम्पका कारण प्रभावित क्षेत्रमा जनताको दैनिकी अस्तव्यस्त बन्दै गइरहेकाले परामर्श सहितको सक्रियता र अभियानलाई अगाडि बढाइनुपर्ने उहाँको भनाइ छ । `भूकम्पपछि अधिकांश प्रभावितमा अहिले मनोबैज्ञानिक असर परेको छ । सामाजिक, साँस्कृतिक तथा आर्थिक उत्पादनमा घाटा भएको छ । त्यसैले अब पुनर्निर्माण अभियान मार्फत जनतालाई आफ्नै जनजीविका चलाउने वातावरणमा जोड्नुपर्दछ,´ शर्माले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका नेता शर्माले भूकम्पपछि राजनीतिक दलको सक्रियतामा सुरु गरिएको अस्थायी टहरा निर्माणको बाँकी कामलाई पनि स्थानीय शक्ति परिचालन गरेर पूरा गरिनुपर्ने बताउनुभएको छ । त्यसका लागि सबै राजनीतिक दल एक भएर पुनर्निर्माण कार्यमा लाग्दै जनताको साथमा जानुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै उहाँले प्रभावित बासिन्दालाई वितरण गरिने राहतको स्वरुपलाई समेत परिवर्तन गरेर अबदेखि पुनर्निर्माण सङ्ग जोडिएर आउने राहतलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
यसैबीच नेता शर्माले भूकम्पपछि आफ्नो नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा ३ हजार एकसय ६८ अस्थायी टहरा निर्माण गरिएको जानकारी दिनुभएको छ ।