सच्चिनकै लागि रुपान्तरण अभियान : इन्चार्ज खड्का
64x64
२०८० असोज १७ बुधबार प्रेसपालिका संवाददाता
911 Views

रुकुम पश्चिम १७, असोज ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज गगन खड्काले पार्टी सुदृढीकरणका लागि रुपान्तरण अभियान संचालन गरिएको बताउनुभएको छ । आज मुसिकोटमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको पत्रकार सम्मेलनमा बोल्दै अहिलेको अवस्थामा पार्टी यथास्थितिवादमा फस्दै गएकाले सुधारका निम्ति अभियान चलाइएको बताउनुभएको हो ।

जनताले परिवर्तन र जीवनस्तर बदल्न चाहेकाले समाजवादी नीति कार्यान्वयनका लागि पार्टीले १ महीने अभियान संचालन गरेको इन्चार्ज खड्काको भनाइ छ । अभियानबाट पार्टीका कमीकमजोरीको अध्ययन गर्दै अर्को समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढिएको उहाँले बताउनुभएको छ ।

`एक महीना सम्म संचालन भएको रुपान्तरण अभियानले माओवादी पार्टी अब सुधारको बाटोमा उन्मुख हुँदै गएको छ । परिवर्तित रुपमा नयाँ उचाईका साथ पार्टी निर्माण भएको छ, इन्चार्ज खड्काले भन्नुभयो ।´

माओवादीले देशैभर विषेश रुपान्तरण अभियान सुरु गरेको एक महीना पूरा भएको छ । सो अभियान आगामी दिनमा समेत निरन्तरता दिने बताइएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले गत भदौ १६ गते देखि संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको प्रारम्भिक समिक्षा आजै सार्वजनिक गरेको छ । जसअन्तर्गत १ महीने अभियानमा जनताको घरदैलोमा पुगेर गरिएका गतिविधिलाई रुकुम पश्चिमको माओवादी पार्टीले ६ वटा बुदामा उल्लेख गरेको छ ।

यस्ता छन् माओवादी अभियानका गतिविधिहरु
१) अभियानको उद्घाटन कार्यक्रम भदौ १६ गते ७३ वटै वडामा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको ।
२. एक महिनाको अवधिमा जिल्लाभर ९ हजार घरधुरी पुगेर ३२ हजार जनासंग भेटघाट तथा अन्तरक्रिया गरिएको ।
३) यस अवधिमा पार्टीका २ सय ९५ वटा टोल कमिटी र ४ सय ५० वटा सेल कमिटीका बैठक बसेको, ६ सय ३८ नयाँ पार्टी सदस्य थपिएको ।

४) अभियानको क्रममा जिल्लाका विभिन्न स्थानमा जनसेवा तथा जनश्रमका ३४ वटा कार्यक्रमहरु सम्पन्न भएको । जसअन्तरगत आठविसकोट–४ मा रिता कुमारी बिक र सुनिता सुनारको हावा हुरीले छाना उडाइदिएको घर मर्तत गरिएको, आठबिसकोट -३ मा घोरेटो बाटो मर्मत गरिएको, बाँफिकोटको छिनखेत, मुसिकोटको सेरिगाउँ लगायतमा सरसफाई गरिएको, सानीभेरी गाउँपालिका -५ मा साढे ३ किलोमिटर सडक मर्मत गरिएको, सानीभेरी -११ मा खानेपानी र सडक मर्मत गरिएको, चौरजहारी -६ मा वडा कार्यालय जोड्ने सडकमा खसेको पहिरो हटाई यातायात सुरु गरिएको, चौरजहारी -६ को शान्तिबजार- घर्तीकाँडा  गोरेटो बाटो मर्मत गरिएको, चौरजहारी -८ मा ५ सय  मिटर पाइपलाईन खनेर पाइप गाडिएको, बाँफिकोट -१ लागिममा घोरेटो बाटो मर्मत गरिएको र बिरे दमाईको भत्केको घर मर्मत गरिएको, बाँफिकोट -६ मा ४ वटा गोरेटो बाटा मर्मत गरिएको आदि ।

५) यस अभियानले समर्थक जनता र कार्यकर्ता पंक्तिमा उत्साह जगाएको, अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव प्राप्त भएको ।

६) अभियानको क्रममा जनताबाट प्राप्त केही सुझावहरु पार्टी रुपान्तरणको लागि सबै नेता कार्यकर्ताहरुले कम्युनिष्ट आदर्श/आचरण अनुकूलको जीवन व्यवहार र कार्यशैली अपनाउनुपर्ने, आर्थिक पारदर्शिता कायम राख्ने प्रयोजनको लागि नेताहरुको सम्पत्ति विवरण प्रत्येक वर्ष सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने र कतै अस्वभाविक सम्पत्ति देखिएमा त्यसलाई राज्यद्वारा छानविनको दायरामा ल्याउनुपर्ने, चुनावी प्रयोजनको लागि गरिने विभिन्न खाले राजनैतिक गठबन्धनको कारण पार्टी कमजोर हुँदै गएकोले आगामी दिनमा गठबन्धन गर्न नहुने, पार्टीको निर्णयबाट विभिन्न लाभको अवसर पाएका नेता, कार्यकर्ताहरु पार्टीमा अरुभन्दा अझ बढी सक्रियताका साथ खट्नुपर्ने, स्थानीय सरकारहरुले ठूला ठूला विकास निर्माणका कामतिरभन्दा स–साना कृषकमुखी र सेवामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने आदि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News