माओवादी केन्द्रको तीन महिने अभियान सुरु
64x64
२०८० भाद्र १५ शुक्रबार प्रेसपालिका संवाददाता
309 Views

निराजन सिर्पाली
रुकुम पूर्व १५, भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तीन महिने अभियान रुकुम पूर्वमा सुरु भएको छ । माओवादीको देशव्यापी अभियान अन्तर्गत रुकुम पूर्वमा पनि बिहीवार देखि जिल्ला समन्वय समितिको विस्तारित बैठक मार्फत अभियानको थालनी गरिएको छ । यो बैठक आजसम्म चल्ने बताइएको छ । जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नाराका साथ माओवादी विशेष रुपान्तरण अभियान अहिले देशैभर चलिरहेको छ । यही अभियानको थालनी रुकुम पूर्व मा पनि सुरु भएको हो ।

केन्द्रीय तथा प्रदेश स्तरका नेताहरुको उपस्थितिमा बसिरहेको बैठकमा बिहीवार तीनवटै पालिकाले रिपोर्टिङ गरेका छन् । बैठकमा उपस्थितहरुले पनि आफ्नो मनमा लागेका कुरा, प्रश्न तथा सल्लाह सुझावहरु राखेका थिए ।

आज केन्द्रीयस्तरका नेताले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज तेजबहादुर ओलिले जानकारी दिनुभएको छ ।

रुकुम पूर्व जिल्ला समन्वय समितिकाे बैठकले जिल्लामा अभियानको पहिलो चरणका कार्यक्रमहरु तयारी,  बैठक र भेटघाटलाई तीब्र पारिएको पार्टीको केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष सुबाेधराज सेर्पालीले बताउनुभएको छ । उहाँका अनुसार “घर–घरमा माओवादी, जन–जनमा माओवादी” भन्ने नारा दिएर पार्टी नेताहरुलाई अन्तर जिल्ला तथा वडाहरुमा पठाएको छ ।

त्यस्तै अध्यक्ष सेर्पालीले पार्टीलाई नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखेर पार्टीका सबै जनवर्गीय  संगठन तथा मोर्चाका नेताहरुलाई वडा तथा टोल–टोलमा खटाईएको बताउनुभएको छ ।

प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय  सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज हितमान शाक्यले पार्टीका सबै समस्या बुझ्न र जनताका समस्याको समाधान गर्न सबै पार्टी नेता कार्यकर्ता लाग्नु पर्ने बताउनुएको छ । बैठकमा निर्देशनात्मक तथा प्रशिक्षणात्मक अभिव्यक्ती दिंदै ईन्चार्ज शाक्यले जन-जनमा माओवादी केन्द्रले गरेका उपलब्धिबारे जनतालाई बुझाईने पनि बताउनुभएकाे छ ।

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” का इन्चार्ज तथा पाटीका केन्द्रीय सदस्य कमला राेकाको अध्यक्षतामा बसेको बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज हितमान शाक्यकाे प्रमुख आतिथ्यता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News