रुकुम पश्चिम ३, जेठ ।
नेकपा एस रुकुम पश्चिमले आज मुसिकोट स्थित पार्टी कार्यालयमा ३०औं मदन आश्रित स्मृति दिवस मनाएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय निधन भएको दिनको सम्झनामा स्मृति दिवस मनाएको हो ।
पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पार्टी उपाध्यक्ष ठगेन्द्र प्रकाश पुरीको प्रमुख आतिथ्यतामा मदन भण्डारी र आश्रितको फोटोमा अबिर तथा माल्यार्पण गरेर दिवस मनाइएको नेकपा एसले बताएको छ । त्यस्तै जिल्लाको सानीभेरी गाउँपालिकामा पनि एक कार्यक्रमको आयोजना गरि मदन आश्रित स्मृति दिवस मनाइएको छ ।
मदन आश्रित दिवसको सम्झनमा आज नेकपा एकीकृत समाजवादीले देशैभर यो दिवस मनाएको छ ।
जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा भण्डारीलाई चिनिन्छ । उक्त सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई अमेरिकी सञ्चारमाध्यमहरूले जीवित ‘कार्ल मार्क्स’ भनेर सम्बोधन गरेका थिए ।
३० वर्ष अघि भएकाे याे घटनाकाे सत्य तथ्य छानबिन गर्ने नेताहरूले बताउँदै आएका छन् । तर, अहिलेसम्म वास्तविकता बाहिर आउन सकेकाे छैन ।
दुवै नेताको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना परेर निधन भएको थियो ।