रुकुम पश्चिम ४, फागुन ।
विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले छैंटौ जिल्ला समितिको प्रथम पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । आज मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।
बैठकका निर्णयहरु सार्वजनिक गर्दै डि टू का सक्रेटरी छविलाल घर्तीले शिक्षामा बढेको निजीकरण विरुद्ध लाग्ने, सर्वसुलभ यातायात सेवाका लागि गाउँपालिका र नगरपालिकालाई आफ्नो यातायातको व्यवस्था गर्न र वैज्ञानिक भाडादर कायम गर्न आग्रह गर्ने बताउनुभएको छ । त्यस्तै निःशुल्क र भरपर्दो स्वास्थ्य सेवाका लागि जिल्लामै अत्याधुनिक अस्पताल खोल्न र त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्ने , कृषक समस्यालाई हल गर्ने, विद्युत महशुल समायोजन गर्न तथा विद्युतमा भएको भ्रष्टाचारका विरुद्ध संघर्ष गर्ने, सहज र सुलभ खानेपानी, लामो समयदेखि बन्द अवस्थामा रहेका कार्यालयबाट तत्काल सेवा प्रवाह गराउन दवाव सृजना गर्न आगामी गरिने भएको छ ।
साथै पार्टीले लघुवित्त विरुद्ध विभिन्न चरणमा संघर्षका कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ । जसअनुसार भोली जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पीडित सहित लघुवित्त विरुद्ध प्रर्दशन हुने नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । लघुवित्तले जनतामा लुट मच्चाएकोले यसका विरुद्धमा लागेको इन्चार्ज बुढाको भनाइ छ ।
त्यस्तै पार्टीले जिल्लालाई डि वान, डि टू र डि थ्री गरी तीन भागमा विभाजन गरेको छ । डि थ्री का सेक्रेटरी छलाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी भाष्कर मल्लले गर्नुभएको हो ।