रुकुम पश्चिम १, फागुन ।
नेकपा माओवादी केन्द्रका उप–महासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको छ । संख्याको कुरा नभई विभिन्न एजेन्डामा राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको हो । जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको छ ।
‘संख्या के हो भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पाएको विश्वासको मत नै राष्ट्रिय सहमतिको बलियो आधार हो । उहाँले इतिहासकै बढि विश्वासको मत पाउनुभयो ।’, उहाँले थप्नुभयो– ‘अव संसदमा संख्या गनेर काम छैन । राष्ट्रिय सहमतिको खाँचो छ भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतले प्रष्ट पारेको छ ।’
देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सवै कुरामा राष्ट्रिय सहमति आवश्यक रहेको उहाँले बताउनुभयो । हिजो र आज गरेका गठवन्धन भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्नुपर्ने बेला आएको शर्माको भनाई छ । ‘अव गठबन्धनका कुरा गर्ने होईन ।’, उहाँले भन्नुभयो
राष्ट्रपतिको नाममा विभिन्न खाले कुरा बाहिर आएको बताउदै उहाँले राष्ट्रपति पनि राज्यको आवश्यकतामा आउने दावी गर्नुभएको छ । कुनै राजनीतिक दलको ईसारामा चल्ने खालको राष्ट्रपति नचाहिएको भन्दै उहाँले नेताहरुले पनि राष्ट्रिय सहमति खोज्नु पर्ने बताउनुभयो ।।