भदौ, ३१ ।
आजभन्दा करिब–करिब एक शतक अगाडिको कुरा हो । उतिबेला मुसीकोट अत्यन्तै विकट भूभाग मानिन्थ्यो । विकासका विभिन्न आधारभूत सुविधाहरुले भर्खरै दाङमा पाइला हाल्दै थिए । त्यतिबेला मुसीकोटका लागि ती सुविधाहरु आकाशका फलतुल्य थिए । यस्तो खालको तत्कालीन विकट मुसीकोटको काखमा सोलाबाङ नामको सानो फाँट फस्टाउँदै थियो । त्यस फाँटमा एउटा चिटिक्कको गाउँ बसेको थियो । त्यो गाउँ जति ऊर्वर थियो, उति नै सुन्दर पनि । वरिपरि फनक्कै तीनवटा खोलाहरुले घेरिएको थियो । गाउँको माथिपट्टि सालघारी थियो । जङ्गल यति घना थियो कि दिउँसै पनि हत्पति एक्लैदुक्लै मान्छेहरु पस्न डराउँथे । जङ्गलमा दिउँसै विभिन्न जङ्गली जन्तुहरु कराउँथे । गाउँलेका कुकुर र डिङाबाछाहरु समेत दिनदहाडै हराउँथे । गाउँका बीचबीचमा मनग्गे पानी बगिरहने ढुङ्गेधाराहरु थिए । बाहिरबाट हेर्दा विकट भनिए पनि भित्र पसेपछि भने योजत्तिको सुगम गाउँ अर्को थिएन ।
त्यसै गाउँको ठीक बीचमा कयनपानी नामको सानो टोल थियो । कयनपानीको पुछारतिर उतिबेलाको ठूलो भन्न मिल्ने एउटा परम्परागत दुईतले घर थियो । त्यो घरवालालाई लाहोरे भनिन्थ्यो । लाहोरेको नाम कालीबहादुर खडका थियो । उनलाई कसै–कसैले बम्बैवाले पनि भन्थे । उनी बम्बैमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएकोले बम्बैवाले वा लाहोरेको नामले परिचित थिए ।
कालीबहादुर भन्नेबित्तिकै गाउँलेले सम्मानको दृष्टिले हेर्दथे । एक त उतिबेला नै बम्बैजस्तो ठूलो र आधुनिक शहरमा धेरै वर्ष रोजगारीमा बिताएर गाउँमा फर्किएकोले उनको लवाइखवाइ राजसी खालको देखिन्थ्यो । उनको घरमा गाउँलेले कहिल्यै नदेखेका बन्दुक तथा हतियारहरु, परिवार र शहरका तस्बिरहरु, ऐना तथा नौला प्रकारका सरसामानहरु पनि हुन्थे । ती नौला कुराहरुको स्वामित्वले गर्दा गाउँलेले लाहोरेलाई नौला जीव ठान्थे । अर्को कारण, गाउँमा पाठशाला नभए पनि यिनले गाउँलेहरुलाई साक्षर तुल्याउने भूमिका खेलेका थिए । आफ्ना सन्तानहरुलाई घरमै साक्षर तुल्याइसकेका थिए । त्यो जमानामा उनका छोरा मात्र होइन छोरीहरुले समेत रामायण तथा महाभारतका श्लोकहरु लय हालेर गाएको सुन्न उनको घरमा गाउँका मान्छेहरु झुम्मिन्थे। योगमायाले त रामायण, महाभारत लगायत धर्मशास्त्रका श्लोकहरु मुखमै सारिसकेकी थिइन् । बाबुबाट लेखापढी तथा तमसुक लेख्ने तरिका सिकेकी थिइन् । कचहरीहरुमा उनकै माग हुन्थ्यो । कालीबहादुर उतिबेलाका कांग्रेसका ठूला नेता पनि थिए । उतिबेला मुसीकोट सल्यान जिल्लाअन्तर्गत पर्दथ्यो ।
लाहोरेकी चारवटी हृष्टपुष्ट छोरीहरु थिए । उनीहरु बालवयबाट किशोर वयमा उक्लँदै थिए । तीमध्ये जेठी छोरीको नाम योगमाया थियो । जेठी छोरी हुनुको नाताले योगमायाको रोवरवाफ अलि बढी नै थियो । उनले आफूलाई छोरी भन्नुभन्दा छोरा भनेको मन पराउँथिन् । तसर्थ बाबुआमाले उनलाई जेठोछोरा नै भनिदिन्थे । सम्पन्न बाबुको रोवरवाफ छोरीमा पनि सरेको हुँदो हो । लवाइखवाइ गाउँलेको तुलनामा उच्चस्तरको थियो । योगमायाको गोरीगोरी डल्लीडल्ली शारीरिक ढाँचाले सुन्दरी देखिन्थन् । कोकिल कण्ठले शारीरिक सुन्दरतामा सुनमा सुगन्ध भरिएजस्तै भएको थियो । लाहुरे बाले आफ्नो छाती चार हात फराकिलो तुल्याउँदै भन्थे, यो गाउँका तन्नेरीलाई समेत मेरी जेठी छोरीले कान्छी औँलाले नै पछार्न सक्छिन् ।
त्यही टोलको माथिपट्टि मनवीर ओलीको घर थियो । उनलाई गाउँलेले ओली मुखिया भन्थे । खासमा उनका बाबु ग्वाम्जु ओली नै गाउँका मुखिया थिए रे, उनका छोरालाई गाउँलेहरुले बाबुकै पद भिडाइदिएका थिए । उनको पनि गाउँमा इज्जत र श्रीसम्पत्ति लाहोरे कालीबहादुरको भन्दा कम्ता थिएन । तसर्थ उनको पनि स्वाभाविक धाकरवाफ थियो ।
उनका दुई छोराहरु थिए । जेठा छोराको नाम डम्बरसिँ थियो । उनी सानैमा लाहोरे भैसकेका थिए । कान्छा छोराको नाम यज्ञबहादुर थियो । कान्छा छोराले गाउँमै बसेर बाबुलाई खेती–किसानीमा मद्दत पुर्याइरहेका थिए । उनी अत्यन्तै सज्जन र अनुशासित थिए । ठीक्कैको उचाइ, लामोलामो नाक थियो। कल्सौँरो वर्ण थियो । गाउँका कुनै तन्नेरीभन्दा कम्ता आकर्षक थिएनन् । उनी लज्जालु स्वभावा भएकोले बाहिरका मान्छेहरुसँग कमै बोल्थे, जमघटमा उति जाँदैनथे । खेतीपाती गर्न, हलो जोत्न र भारी बोक्न एकदमै सिपालु थिए। उनको छिट्टै बिहे गरिसक्ने बाबुको धोको थियो ।
मनवीरले आफ्नो कान्छो छोराको लागि उपयुक्त कन्या देखिसकेका थिए। ती कन्या थिइन् कालीबहादुर लाहोरेकी जेठी छोरी, योगमाया । ती कन्याको बैँस भरिए हातबाट फुत्किलिन् कि भन्ने डरले कालीबहादुरको घरमा प्रस्ताव लिएर झटपट पुगिहाले । लाहोरे पनि सायद यस्तै प्रस्तावको पर्खाइमा थिए कि? आफूजत्तिकै सम्मानित घरपरिवार र सज्जन ज्वाइँ फेला परे हुन्थ्यो भन्ने कामना गरेका थिए । त्यति बेला धेरैजसोको मनको जोडी मिले पनि राशी नजुर्दा दाम्पत्य जोडा भाँडिनजान्थ्यो । तर यी दुवैजनाको राशी समेत एउटै पर्न गएको थियो । ज्योतिषी हेराउनै परेन, लगन जुराउनै परेन । मुखियाको प्रस्तावलाई लाहोरेले हातहातमै स्वीकार गरिहाले ।
लोहोरेको जुवाइँ हुन पाइने भइयो भनी यज्ञबहादुरका भुइँखुट्टै थिएनन्। सम्पूर्ण रुप र गुणले सम्पन्न दुलही भिœयाउन पाउने उनको सानो भाग्य थिएन। उता लाहोरेकी छोरीले पनि गाउँकै इज्जतदार मुखियाका सर्वगुण सम्पन्न र भोलाभाला छोरालाई आफ्नो जोवन सुम्पन पाउनु कम्ता अहोभाग्य ठानिनन् ।
०००
यज्ञबहादुरसँगको बिहेपछि स्वाभाविक रुपमा योगमायाका सन्तानहरुले जन्म लिन थाले । पहिलो सन्तानको रुपमा छोरी जन्मिइन् । आफ्नो कोखबाट सन्तान जन्मन सक्छन् भन्ने गर्वले योगमायाको छाती फैलियो । लोग्नेको कुनै दुखेसो रहेन । किनकि, पहिलो सन्तानमा छोरा वा छोरी हुने सम्भावना बराबर नै हो भन्ने उनले पहिलेदेखि बुझेकै थिए । पहिलो सन्तान हुर्की नसक्दै दोस्रो गर्भ रह्यो । दुवै जनाको भित्री आकांक्षा छोरो पाउने थियो । दोस्रो पनि छोरी नै जन्मिइन् । स्वास्नीले आशा मारिनन्, ’के भयो त ? अब लगातार दुई छोरा जन्मिए भने गज्जब भैहाल्यो नि ! दुई छोरा दुई छोरीकी धनी हुनु जत्तिकै यो समाजमा भाग्य अर्को के होला ? दुईवटी छोरी पाउनेलाई धरालोको कुनै समस्या हुँदैन ।’ उनको पूर्ण विश्वास थियो अर्को त छोरै हुनेछ । लोग्नेलाई पनि विश्वास दिलाइन्, “ढुक्क हुनुस्, हाम्रो तेस्रो सन्तान छोरा नै हुनेछ ।”
यसैबेला यो दम्पतिकी माहिली छोरी गम्भीर बिरामी परी । गाउँको ओखतीमूलो धामीझाँक्रीले बचाउनै सकेन । उनीहरुले सन्तान गुमाउनुको असह्य पीडा मिलीजुली खेपे । यो पीडालाई भुलाउनको लागि तेस्रो गर्भ पर्याप्त भयो । उनीहरुले भावि छोराको अनुहार सम्झेर सकीनसकी त्यो पीडा भित्रभित्रै पिइदिए ।
जब तेस्रो सन्तानको रुपमा पनि छोरीले नै जन्म लिइन्, योगमाया अलिकति हडबडाइन् । यज्ञबहादुर पहिलो पटक अँध्यारिए । घर तर्फकाले औँला उठाउन थाले । समाजका दौँतरीहरुले कानेखुशी गर्न थाले । यज्ञबहादुरका बाबुआमाले छोरासँग खासखुस गर्दै कान भर्न थाले । माइतीतिरका बाआमाको अनुहारबाट रङ उड्न थाल्यो । घरमा बढ्दै गएको खासखुस सुन्दा योगमायालाई भाउन्ने भएर आउँथ्यो, “घरकाले बुहारीउपर खासखुस गर्न मिल्ने, तर माइतीकाले ज्वाइँउपर खासखुस गर्न नमिल्ने, कस्तो चलन हो यो ?” उनले मनकुरा खेलाउन थालिन् ।
’यत्तिकै आश गरेर बसेर मात्र हुँदोरहेनछ मागे पो पाइन्थ्यो कि ?’ भन्नेतिर योगमाया घोरिन थालिन् । आफूमा भएको कुन कमजोरी हटाइदिएमा छोरोले जन्म लिनसक्छ भन्नेतिर विकल्पको खोजी गर्न थालिन् । फलस्वरुप धामी झाँक्रीहरुलाई गुहारिन् । नजिकका प्रसिद्ध भनिएका मनोकांक्षा पूरा गरिदिने मठमन्दिरहरुमा धुपबत्ती र भाकल गर्न थालिन् । ज्योतिष हेराइन् । भविष्यवक्ताहरु गाउँमा टुपुल्किए भने पाथीचामल र मानागहना चढाउँदै भविष्यलाई सुरक्षित तुल्याइदिन हातपाउ जोड्न थालिन् । ती सबैले आआफूले जानेका जडीबुटीहरुको सिफारिस गरे र चौथो सन्तान छोरा नै हुनेछ भनेर विश्वास दिलाइदिए । दुवैजनाको मनमा झिनो विश्वासले गर्भधारण गर्यो ।
सम्पूर्ण प्रयास र आशाको बाबजुद चौथो सन्तानको रुपमा पनि छोरीले नै जन्म लिइन् । योगमाया दम्पतिको बचेखुचेको विश्वास तुहुन पुग्यो । योगमाया एकदमै निराश भइन् । उनले निश्चय नै गरिन् कि अब केही गरे पनि छोरा जन्माउन सक्नेछैन । उनका आशाहरु बिलाएर गए । विश्वासहरु उडेर गए । खुशीयालीहरु जति सबै सेलाएर गए । उनले कुरा काट्ने गाउँलेको अगाडि मुख लुकाउँदै हिँड्नुपर्ने भयो । धर्मशास्त्रका पुस्तकहरु देखिए भने पढ्नुको सट्टा कुनामा मिल्काउन थालिन् । विवाहअघि र पछिका प्रेमालापका प्रारम्भिक दिनहरुमा दुवैजनाले कहिले पनि साथ नछोड्ने कसम खाएका थिए । त्यसबेला बहुविवाह, बालविवाह र जारीविवाह सामान्य प्रचलन मात्र नभई गाउँमा मर्दपन देखाउनैपर्ने एउटा अनिवार्य उपायजस्तै ठानिन्थ्यो । तर यज्ञबहादुरले भन्थे, “जोसुकैले जेसुकै भनुन्, म तिमीबिना बाँच्न सक्तिनँ । तिमीबाहेक अर्की आइमाइको यो जीवनमा कल्पना पनि गर्न सक्तिनँ ।” यज्ञबहादुरले दिएको यो वचन र विश्वासले योगमायाका खुट्टाहरु अझै धर्मराइसकेका थिएनन् ।
०००
तर समयले निकै कोल्टो फेरिसकेको थियो । ती वाचा र विश्वासहरु समयको अर्को कोल्टोमा परिसकेका थिए । लोग्ने र स्वास्नीबीचको दुरी घट्नुको साटो झन्–झन् बढेर जाँदै थियो । उनका प्रेमको कमजोर आश्रयमा अडिएका गोडाहरु धर्मराउन थाले ।
योगमायाको पाँचौँ गर्भ पनि रहन पुग्यो । जसले गर्दा लोग्नेको मुर्झाइसकेको आशा त केही पलायो तर स्वास्नीको आशा यसरी मुर्झायो कि जति मलजल गरे पनि फेरि मुन्टो उठाउन सकेन । कदापि पलाउन सकेन । स्वास्नीले जसरी पनि छोरो जन्माउने उद्देश्यले गर्नु–नगर्नु सबथोक गरिसकेकी थिइन् । अब उनको मन अड्याउन मिल्ने कुनै उपाय बाँकी रहेको थिएन । अतः उनले अर्कै विकल्प सोच्न थालिन्, ’अब चारवटा छोरीभन्दा बढी सन्तान मलाई आवश्यक छैन । म जसरी पनि यो गर्भलाई तुहाइदिनेछु ।’
यही दृढ निश्चयका साथ जान्नेबुझ्नेलाई अत्यन्तै गोपनीयताका साथ आफ्नो गर्भ तुहाउने उपाय सोध्न थालिन् । साथीभाइ दौँतरीहरुसँग अधिग्रो झार्ने उपाय सोधखोज गरिन् । वैद्यहरुलाई गर्भपातको लागि गुहारिन् । कसैले काँचो सिन्दुर खाए गर्भ गिर्छ भने, सिन्दुर खोजीखोजी खाइदिइन् । कसैले रातोमाटो खाए हुन्छ भनिदिए, वनजङ्गल र उनाकुना पसेर कपाकप माटो खनेर खान थालिन् । कसैले सिसाको धुलो पिँधेर खाए हुन्छ भनिदिए, त्यो पनि सकीनसकी खाइदिइन् । वैद्यहरुले गर्भ तुहाउन सिफारिस गरेका तीता, टर्रा र पीरा जडीबुटीहरु पनि सोधीखोजी भनेबमोजिमकै विधि पुर्याएर खाइदिइन् ।
गर्भको शिशु विकसित हुँदै जाँदा उनलाई खाना खान मन लाग्न छोडिसकेको थियो । खायो कि बान्ता भैहाल्थ्यो । काम गर्न उठ्दा हातगोडा थरथर काँप्न थालिहाल्थे । तर पनि घरधन्धा नगरी नहुने थियो । दोजिया भएको बखत जुन–जुन काम गर्न हुँदैन भनी शुभेच्छुकहरुले सल्लाह दिन्थे, त्यही सल्लाहलाई विकल्प ठानी जानी–जानी त्यही–त्यही काम गर्न थालिन् । जस्तो कि गर्भवती अवस्थामा सकुन्जेलको ठूलठूला भारी बोक्ने, ठूलठूला गाग्रीमा पानी बोक्ने, दौडधुप र हस्याङफस्याङ गर्दै काममा अहोरात्र जोतिइरहने । यसो गर्नुमै उनले फाइदा देखेकी थिइन् । कठिन कामहरुले एकातिर अनपेक्षित गर्भ तुहाउन सकिने सम्भावना थियो भने अर्कोतिर घरपरिवारको बाङ्गिदै गएको मन सोझ्याउन मद्दत पनि मिल्थ्यो । तर जति प्राण फालेर जोतिए पनि सोचेजस्तो नतिजा आइरहेको थिएन । जतिसुकै कठिन विधि प्रयोग गरिए पनि योगमायाको गर्भको सन्तानले कदापि तुहुन मानेन ।
उता आमा र बाबु दुवैले हेरविचार गर्न छोडेपछि तीनवटी छोरीहरुको स्वास्थ्य झन्–झन् बिग्रँदै गएको थियो । बच्चाकालमा पाउनुपर्ने मायाको सट्टा अबोध बालिकाहरुमा गाली र लाठीहरु बर्संदै गएका थिए । बिनाकारण बिनाअपराध सजाय पाउनको लागि ती केटीहरुले घरी पिठ्यूँ त घरी टाउको थापिरहेका हुन्थे । उनीहरु आमाबाबु छँदाछँदै पनि निसहाय भैरहेका थिए, नितान्त टुहुरा भएका थिए ।
उनीसँग अर्को अन्तिम विकल्प मौजुदा छँदैथियो । काप्रीबासको भीरबाट हाम्फालेर मुग्लुखोलाको रहमुनि आफूलाई होमिदिने वा सालघारी पुगेर घाँटीमा पासो कस्ने । ती दुवै ठाउँ र विधि चयन गरिसकेकाले घरीघरी घरपट्टि र माइतीको आँखा छलेर त्यहाँ पुग्न प्रयास गर्थिन् । तर उक्त विधिको प्रयोग गर्न दुस्साहस गर्दा कहिले आफ्नै छोरीहरु त कहिले माइतीहरुले अवरोध पुर्याइरहे । योगमायाको आमाले सम्झाउँथिन्, “जेठी छोरी भएकोले तँलाई सबै थाहा छ । मेरा पनि लगातार चारवटी छोरी जन्मिएर पाँचौँ सन्तानको रुपमा तेरो ठूलोभाइ खड्कबहादुर जन्मेको हो । त्यसपछि लक्षिराम र चेलाराम जन्मिएका हुन् । यसरी हरेश् नखा । मैले तेरोजस्तो चिन्ता कहिल्यै लिइनँ । आफ्नो जिन्दगीदेखि कहिले हार खाइनँ । तँ पनि मेरोजत्तिकै ठूलो मुटुकी छोरी होस् । तेरो लागि तेरो घरपरिवारले साथ छोडे पनि तेरो साथमा हामी छौँ । यसरी हरेस नखा नानी ।”
यी अर्ति उपदेश सुन्नको लागि उनका त कान मात्र होइन, कुनै पनि ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरु अक्षम भैसकेका थिए, शिथिल भैसकेका थिए, काम नलाग्ने भैसकेका थिए । उनले सेवन गरेका विभिन्न थरी प्राकृतिक विषहरुले उनको शरीर नराम्ररी गलिसकेको थियो । उनको होस हराइसकेको थियो । जीउबाट घरीघरी कम्पन मात्र छुट्थ्यो । रिङ्टा चलिरहन्थ्यो । शरीरको शक्ति बिलाइसकेको थियो । छोरीछोरी मात्र जन्माइरहेको अपराधको निकै कठिन सजाय गाउँमा सबैभन्दा सम्पन्न एवम् जान्नेबुझ्ने परिवारकी छोरीबुहारीले खुलेयाम भोगिरहेकी थिइन् । कालीबहादुर र मनबीरको धनसम्पत्ति, धाक, रवाफले योगमायाको पीडा कम गर्न सकेन । तत्कालीन समाजको लागि त्यो सजाय सर्वस्वीकार्य नै थियो । तसर्थ तत्कालीन समाज पनि मिच मारेर योगमायाको दुरावस्था टुलुटुलु हेरिबसेको थियो ।
०००
सोचेसम्झेका कुनै विकल्पहरुले काम नदिएपछि यस्तै अवस्थामा उनको प्रशव वेदना सुरु भैदियो । गलिसकेको झिनो शरीरको लागि यो वेदना प्रलयङ्कारी थियो । उनी वेदनाले छटपटाउँदै मुर्छित हुन पुगिन् । पेटभित्रको संवेदनाहीन निर्दोष भ्रूणले पनि सजाय त राम्रैसँग पाइसकेको थियो तर उसको संसारमा पदार्पण गर्ने प्राकृतिक बाटो केही गरी छेकिएन । आफूलाई जन्माउँदै गरेकी आमाको अवस्थाप्रति ऊ अज्ञात थियो । उसको लागि पनि संसार देख्न पाउने सम्भावना दुरुह हुँदै थियो, त्यसको बाबजुद उसले बाहिर निस्कने कठिन संघर्ष गरिरह्यो । आफ्नी आमा अचेत भएको फाइदा उठाउँदै उसले यस संसारमा पाइला टेकी छाड्यो ।
सन्तानको लिङ्ग पहिचान हुनेबित्तिकै घरपरिवारमा खुशियालीको उभार मच्चियो । छोराको बाबु बन्न पुगेका यज्ञबहादुर खुशीले तीनबित्ता उफ्रिए । यो तात्तातो खबर बतासको घोडा चढेर हरेक गाउँलेका ढोका हान्न पुग्यो । छोराको बाबुको कानमा पाती लगाइदिनको लागि तँछाडमछाड चल्यो, त्यस घरमा गाउँलेहरुको मेला नै उर्लियो । खुशीको मारवस मनवीरले गाउँलेलाई भोज खुवाउन दुइटा खसी काटिदिए ।
खबर सुन्नेबित्तिकै योगमायाका बाबु र भाइहरु पनि फालहाल्दै जब छोरीको घरतिर उक्लिए, त्यहाँको दृश्य देखेर उनीहरुका आँखा तिरमिराए । कालीबहादुर खुशीको मारवस नाच्न थाल्नुपर्नेमा सुस्केरा छोड्दै भुइँमा थुचुक्कै बसे । उनकी स्वास्नी छोरीउपर खप्टिएर अलापविलाप गर्दै थिइन् । भर्खरै जन्मिएको शिशुको रुवाइ फुट्न सकेको थिएन । उसका आँखा उघ्रिएका थिएनन् । भुइँमा अचल गुडुल्किएको त्यो नवजात शिशुको जीउ छामे । उसको जीउ मनतातो तर शिथिल थियो । शिशु रगतको डल्लोजस्तो देखिन्थ्यो । त्यो शिशु ज्यूँदो हो कि होइन भन्ने छुट्याउनै उनलाई मुस्किल भयो ।
नवजात शिशुको भन्दा दुरावस्था आफ्नी छोरी योगमायाको थियो । जो अर्कोतिर मुर्छित भएर लाससरी गुजुल्टिरहेकी थिइन् । गर्भाशयबाट पूरै सालनालसहितको काँडो झर्न सकेको थिएन । उनी जीवन र मरणको भयानक संघर्षमा छटपटाइरहेकी थिइन् ।
छोरा नै जन्माएर जसरी पनि घरपरिवारलाई देखाउन योगमायाले गरेका तेह्रौँ प्रयासहरु कामयाब नभएपछि जिन्दगीदेखि नै हार खाइसकेकी थिइन् । त्यही लक्ष्य अहिले दुरुस्तै प्राप्त भैसकेको थियो तर योगमायालाई भने उनको आँखाअगाडि नै आफ्नो कोखबाट चीर प्रतिक्षित छोरा जन्मियो भन्ने अत्तोपत्तो नै थिएन ।
अनेकथरि गर्भ तुहाउने विषहरुको प्रभाव शिशुको अङ्ग–प्रत्यङ्गमा पर्न गएको थियो । जीउभरि विभिन्न प्रकारका नीलडाम र गाँठागुठी परेका थिए । केही समयपछि भर्खरै जन्मिएको शिशु रुन कराउन थाल्यो । आमाको दूध पनि चुस्न थाल्यो । तर उसका आँखा भने उघ्रिँदै उघ्रिएनन् । उसको आँखा खुल्न नै हप्तौँ लाग्यो । कि त रुनै सक्तैनथ्यो, रुन थालेपछि थामिँदै थामिदैनथ्यो ।
उसले अब योगमाया प्रतिका पछिल्लो समयका शंका–उपशंकाहरु सबै सर्लक्कै मेटाइसकेको थियो । घरपरिवारको बुहारीपट्टि पचक्कै भाँचिएको मन सोझिएर जसको तस भैसकेको थियो । यज्ञबहादुरको पनि लोग्नेको मन न हो, भाँचिइसकेको त थिएन, सुकेर भाँचिने अवस्थामा मात्र पुगेको हुँदो हो, छोरो जन्मिनासाथ उनको मन गोबरमा गाँजिएको रायोको बुटोझैँ गजक्कै गाँजियो । उनले अब सम्पूर्ण माया श्रम र सीप खर्चिएर छोराकी आमालाई बचाउन प्रयत्नमा होमिए । सतीदेवीको मृत शरीर बोकेर शिवजी हिमालय पर्वत घुमेसरी उनी छोराको चिन्ता छोडेर मुर्छित स्वास्नीलाई बोकेर वैद्यहरुका दैलो दैलो चहार्न थाले ।
योगमायालाई बाँच्न लेखिएको हुँदो हो, गाउँले वैद्यहरुको जडीबुटीहरुले परिणाम देखाउन थाले । उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन थाल्यो । उनको आँखा खुल्न पूरै हप्ता दिन जति लाग्न गयो । उनको होस खुल्नेबित्तिकै बताइयो कि, उनले पाँचौँ सन्तानको रुपमा छोरा जन्माएकी छन् । उनले पटक्कै बुझिनन्, बरु असहाय छोरीहरु खोज्न थालिन् । उनको होस अरु खुल्दै गयो। आफ्नो सुरु अवस्था र अहिलेसम्मको अवस्थाको दृश्यचित्र उनको आँखामा फनफनी नाच्न थाल्यो । बल्ल आफू सुत्केरी भएको कुरा चाल पाइन् । लोग्नेले आफ्नो छोरालाई योगमायाको काखमा राखिदिए तर उनले त्यो छोरा आफ्नै होला भनी सितिमिति पत्याउँदै पत्याइनन् । आफैँले जन्माएको सन्तान हो भनेर विश्वास जगाउन पनि धेरै समय लिइदियो ।
दैवले उनलाई हात थापिदियो । आमाछोरा दुवैको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गयो । गुमिसकेको आशा, विश्वास फर्केर यस परिवारलाई थुमथुम्याउन थाल्यो । उनीहरुको जीउ कापकापबाट पलाउन थाल्यो । योगमायाका अनुहारमा खुशियालीको रङ गाढा देखिन थाल्यो । योगमायाका ठूलाभाइ खड्कबहादुरले अघिल्ला दुई भान्जीहरुको नाम धन र मन राखिदिएका थिए, ठूलो भान्जोको नाम कर्ण राखिदिए ।
०००
यस्तै खुशीखुशीमा योगमायाको छैटौँ गर्भ पनि रहनपुग्यो । अब लोग्ने स्वास्नीलाई छैटौ गर्भ बचाउने वा तुहाउनेसँग कुनै सरोकार नै रहेन । जति कठिन दिनहरु बित्नु थिए, बितिसकेका थिए । अब यस्ता दिन कदापि आइलाग्ने छैनन् भनी दुवैजना ढुक्क थिए । लोग्नेले हुन्दे भनिदिए र स्वास्नीले रहन दिइन् । एकातिर लगातार वर्षौँदे सन्तानहरु जन्मिरहनु, अर्कोतिर पाँचौँ गर्भ तुहाउन योगमायाले अवाञ्छित र अस्वीकार्य बाटाहरु अवलम्बन गर्नुका आदि कारणहरुले उनको गर्भाशय क्षतविक्षत भैसकेको थियो । पाँचौँ सन्तानलाई जन्म दिइसकेपछि पाठेघर पलाउने तर्खर गर्दैगर्दा अर्को गर्भको भारी थपियो । यसले गर्दा गर्भाशय पलाउनै सकेको थिएन । रुग्ण भैसकेको गर्भाशयले भ्रूणलाई उपयुक्त मलजल पुर्याउन सकेन । फलतः छैठौँ सन्तान त जन्मियो, तर अत्यन्तै मसिनो र कमजोर । बरु मुसाकै चल्लो त्योभन्दा ठूलो हुन्थ्यो होला ।
छैटौँ सन्तान पनि छोरो नै भएकोमा घरपरिवारमा खुशियालीको लहर त स्वाभाविक गतिमा चल्यो तर त्यति मिहिन सन्तानलाई कसरी जोगाउने भन्ने अर्को चिन्ता थपियो । आमाका दूध निक्तिँदै गएका थिए, तथापि उसको निम्ति पर्याप्त मात्रामा गाईको दूधको व्यवस्था गरियो । मेथी पड्काएर तोरीको तेल घसाइयो, घाममा तताइयो, आगोमा सेकाइयो । तर ऊ सितिमिति जाग्दै जागेन । जर्जरभूमिमा तुषारोबीचको बिरुवाजस्तै उसलाई पल्लवित हुन धौ धौ भयो । अन्य बच्चाहरुको तुलनामा उसको शारीरिक प्रगति अत्यन्तै धिमा गतिले भैरहेको थियो ।
योगमायालाई भाउन्ने भएपछि ठूलोभाइ खड्कबहादुरलाई बोलाइन् र भनिन्, “के गर्ने होला, ठूला ? मेरो त केही सीप चलेन । केही गरी यसलाई जगाइदे ।”
खड्कबहादुर असाध्यै तार्किक थिए । बनारससम्म पुगेर म्याट्रिक पास गरिसकेका । साहित्यिक अभिरुचि पनि उत्तिकै थियो । सबैसँग खुलेर कुरा गर्ने, गाउँको नेतृत्व गर्न दिलचस्पी दिने खालका थिए । प्रौढ नहुँदै गाउँका सानातिना समस्याहरु हल गर्न रुचाउँथे पनि । बाबुका गुणहरु सबै उनमा सरेका थिए । सधैँ हँस्सीमज्जाक गर्न रुचाउँथे । उनले ख्यालख्यालै भने, “यसको नाम पूर्ण राखौँ । यसको शरीर जस्तोसुकै भए पनि नाम हेरेर पनि चित्त बुझाउन सकिनेछ ।”
योगमाया आफ्नै भाइको यस प्रकारको छेडछाडले धर्धरी रुन थालिन् । यही पीरले केही समयपछिसम्म आफ्ना भाइसँग बोल्दै बोलिनन् । तर कान्छो सन्तानको पूर्ण नाम घरपरिवारमा स्वीकार्य भएर औपचारिक चलनचल्तीमा प्रयोगमा आउन थाल्यो ।
त्यतिबेला ग्रामीण भेकमा शिशुलाई खुवाउन दूधबाहेक अर्को कुनै विकल्प उपलब्ध थिएन । दालभात खुवाएपछि पो पलाउँछ कि भनी बच्चालाई छ महिनापछि भात खुवाउने चलनलाई भत्काउँदै त्यो बच्चो चार महिना नपुग्दै भात खुवाउन थाले । भातको साथै दूध, दही, मख्खन तथा घ्यू पनि खुवाउन थाले। उसकै लागि घरमा कात्तिके मह र कुखुराको फुल खाली भएन । सामान्यतः चाडपर्व र कुल पूजामा मात्र गाउँमा मासु चाख्न पाइन्थ्यो तर यही बच्चोको कारण यिनीहरुको परिवारमा मासु खाली भएन । गाउँमा सर्वसुलभ हुने मेवा, आँप, केरा, बेलौँती, आरु आदि फलफूल खोजी–खोजी खुवाउन थालियो ।
तर अँहँ, कुनै उपायले पनि कान्छोको पेट उक्सिएन । गाला फोक्सिएनन्। जीउमा मासु भरिएन । त्यस सन्तानमा आशातीत प्रगति पटक्कै देखिएन । हिँड्न थाले लड्थ्यो र चोटपटक लगाइहाल्थ्यो । पेटमा जुका परिरहन्थे । रुघा लागिरहन्थ्यो, छेरपाटी चलिरहन्थ्यो । खुवाउन थाले बान्ता गरिहाल्थ्यो । सधैँ रोइरहने भएकोले उसलाई रुन्चे भनिन्थ्यो ।
मनवीर मुखिया बेलाबेलामा गाउँको कचहरीमा बस्थे । कचहरी सुन्न अधिकांश गाउँलेहरु जम्मा भएका हुन्थे । कचहरी सुन्न आउनेहरुबीच अनौपचारिक कुराहरु चल्दा मनवीरकै कान्छो नातिको कुरा सबैभन्दा पहिले निस्कन्थ्यो । कसैले प्वाक्क भनिहाल्थ्यो, “आफ्नै सन्तानलाई राम्रोसँग खुवाउन– पियाउन नसक्नेले गाउँलेलाई केको न्याय देलान् ?” यो व्यंग्यले मुखियालाई सिङमा हानेजत्तिकै रन्काहा छुट्थ्यो । मर्ममै ताकेर छुरी धसेझैँ पीडा हुन्थ्यो । उनी यसको रिस छोराबुहारीमा पोख्दै सन्किन्थे, “तिमीहरु आफ्नो छोरालाई राम्रोसँग स्याहार्न सक्दैनौ, अरु के गरी खाउला ?” लोग्नेले स्वास्नीलाई हप्काउँथे, “अरु सप्पै काम छोड्दे म आफैँ गर्छु, तँ छोरालाई केही गरी जगा । तैँले सन्तान मात्रै जन्माउने काम गरिस्, तर एउटै सन्तान पनि गतिलो तुल्याउन सकिनस् । मलाई गाउँलेको त के परिवारमै मुख देखाउन लाजको मर्नु भैसक्यो ।”
यो सुनेर योगमायालाई भाउन्ने हुन्थ्यो । अरु जतिसुकै गाली बेइज्जती अपमान सहन सक्थिन् तर आफ्नो सन्तानलाई आफैले स्याहार नगरेको वा खुवाइपियाइ नगरेको भन्ने जत्तिको मिथ्या आरोप अरु केही लाग्दैनथ्यो । बुद्धिबर्कतले गर्न सकिने जति गरिरहेकै थिइन् तर सबै परिश्रम बालुवामा पानी खन्याएसरी खेर गैरहेको थियो । जोरीपारीसँग यही छोराको कारणले हम्मेशी मुख देखाउन गाह्रो भैरहेको थियो । घाँसपात जाँदा अरुसँग लुकिछिपी निस्कन्थिन् । यही छोरालाई जगेर्ना गर्ने समय र साधन एकातर्फमात्र लगाउँदा अरु बच्चाहरुले स्याहार पाउने अवसरबाट वञ्चित भैरहेका थिए । बाँचेका पाँचवटा सन्तानमध्ये एउटी जेठीबाहेक अरु सबै लुरेलङ्गरे थिए ।
बिहानबेलुका हातमुख जोर्न हम्मेहम्मे पर्ने साथिनीहरुका केतुकेको तामाजस्तै हेर्दाहेर्दै सलक्क बढिरहेका थिए । तर आफ्ना सन्तान भने बलेर्तीको तप्कानेमा परेका बिरुवाजस्तै खुच्रुक्क खुम्चिएका थिए । सबै निन्याउरा र लुतेलाम्रे देखिन्थे ।
गाउँलेका छोराछोरीका आङमा मयलका पत्र जमेको हुन्थ्यो । आङमा लगाइएका लुगा च्यातिएका र झुत्रेझाम्रे हुन्थे । तर पनि लुगाहरु उनीहरुका जीउमा टम्म मिलेका हुन्थे र जीउ आकर्षक देखिन्थ्यो तर योगमायाले आफ्ना सन्तानलाई दिनहुँ नुहाइदिएर नयाँनयाँ लुगाहरु फेरिदिन्थिन् । ती लुगाहरु स्थानीय बजारबाट भर्खरै किनेर सिलाइएका हुन्थे । बम्बैबाट उनका भाइबहिनीहरुले पठाइदिएकासमेत हुन्थे । ती लुगा पनि उनका सन्तानहरुका जीउमा ठीक्क कहिल्यै मिल्दैनथे । कतै टमक्क कसिएको त कतै ह्वाङ्लाङ्ग खुलेको हुन्थ्यो । लुगा कतै सिङ उम्रिएको जस्तो त कतै पुच्छर निस्किएको जस्तो देखिन्थ्यो ।
बच्चाबच्चीहरु बाहिर देखाउन लायक नहुँदा योगमायाको मुटुमा दिक्दारी र नैराश्य मात्र थपिरहेको थियो । तीन कन्या र दुई पुत्रको धनी हुँदा जुन गर्व हुनुपर्ने हो, गाउँमा जुन चुरीफुरी हुनुपर्ने हो, योगमायाको दम्पतिलाई कहिल्यै हुन सकेन ।
त्यतिबेला भदौ ४ गते बालदिवसको दिनमा जिल्लामा हृष्टपुष्ट सुन्दर बालकलाई पुरस्कृत गरिन्थ्यो । गाउँका साथीसँगिनीहरुले आ–आफ्ना सन्तान बोकेर सदरमुकाम उक्लन्थे । त्यसै दिन योगमाया भने ढोका थुनेर आँशुले नुहाउँथिन् ।
जेठी छोरीको बिहे सोलाबाङकै साउनेपानी टोलमा भएको थियो । जेठी छोरी हृष्टपुष्ट र यौवनले भरिएकी थिइन् । बाँकी सन्तानको शारीरिक अधोगतिले खिन्न भएकी योगमायाले मााइती आएको बखत यिनै छोरीलाई हेरेर चित्त बुझाउँथिन् । जेठीकै शारीरिक प्रगति हेरेरै तृष्णा मेटाउँथिन् ।
यसै अवधिमा मनवीरका दम्पति नफर्कने गरी परमधाम यात्रातिर लागे। परिवारको सम्पूर्ण जिम्मा उनकै काँधमा थोपरिन पुग्यो । यज्ञबहादुरले आफूलाई एक्लो महसुस गरे, उनी हतासिए । आफू त घर सम्हाल्ने लायकका भैसकेका थिए तर उनकी दुईवटी बहिनीहरु भने आफ्नै छोराछोरीको उमेरका थिए। उनीहरुलाई आफैँले सम्हाल्नु थियो । यज्ञबहादुर घरायसी काममा पोख्त भए पनि बाहिरी दुनियाँको व्यवहारसँग उति भेउ पाउँदैनथे । यस्तो काममा योगमायाले नै भरथेग गर्थिन् ।
तिज र ऋषिपञ्चमीको रातरातभर अरु महिलाहरू एकैठाउँमा जम्मा भएर नाच्थे तर योगमाया उता जान सक्दिनथिन् । उनीहरुको कुरा काट्ने कामको सुरुवात आफ्ना सन्तानबाटै हुनेछ भन्ने पिरलोले उनी साथी–सङ्गातीहरुको बीचमा हम्मेसी जान हिचकिचाउँथिन् ।
०००
योगमायाको पुनः सातौँ सन्तानको गर्भ रहन पुग्यो । लोग्ने–स्वास्नीले जसरी पनि भावि सन्तानलाई हृष्टपुष्ट तुल्याउने वाचा गरे । गर्भिणी अवस्थामा योगमायाको हेरचाह राम्रैसँग भयो । फलस्वरुप स्वस्थ सन्तानको जन्म हुन पुग्यो । छोरी नै भए पनि लोग्ने–स्वास्नी खुशी भए । छोरी दिनप्रतिदिन हुर्किँदै गई । अत्यन्तै हृष्टपुष्ट थिई । तर चार वर्षकै उमेरमा ऊ परमधाम भई । योगमायाको परिवारमा पुनः रुवावासी चल्यो, दुःखको ग्रहणले यो परिवारको खुशियालीलाई पुनः टिमिक्क छेक्यो ।
उनका सन्तानका उमेरका अरु केटाकेटीहरु हलक्कै हुर्किसकेका हुन्थे। राङ्ङे डोकोभरि घाँस बोक्न सक्थे । आकाशको छाति चिर्नेगरी अग्लिएका सल्लाका रुखका टुप्पा टुप्पा पुगेर दाउरा काटेर ल्याउन सक्दथे । गोरुहरुलाई खेतबारीमा नार्ने भैसकेका थिए । अरुका सन्तान राँगो उचाल्ने हुँदा आफ्ना सन्तान भने कुखुराको चल्लो उचाल्नसमेत धौधौ पर्ने खालका थिए ।
बेलुका आफ्ना सन्तानलाई थालभरि भात पस्किदिन्थिन् । जीवनमा प्रगति गर्नको लागि यति भात जसरी पनि खाइदेऊ भनी कर गर्थिन् । तर सन्तानहरु भने एउटाले यो भएन, अर्कोले ऊ भएन भन्दै खान पटक्कै मन गर्दैनथे । एउटाले तिहुन् अलिनो भन्दै मिल्काइदिन्थ्यो भने अर्कोले उही तिहुनलाई चर्को भयो भन्दै लत्याइदिन्थ्यो । जति सिलोक हाले पनि, जति न्याम्ना हालिदिए पनि, जति फकाए पनि वा जति तर्साए पनि कसैको पनि दुई गाँसभन्दा बढी घाँटीबाट छिर्दै छिर्दैनथ्यो । बच्चाहरुले खाना गिजोलेर फालिदिएपछि उनलाई पनि खान मन लाग्दैनथ्यो र गहभरि आँशु उतार्दै भोकै सुतिदिन्थिन् ।
आफ्ना सन्तानहरु केही गरी पनि नहुर्किएपछि उनीसँग विकल्प एउटै बाँकी थियो । बच्चाहरुलाई राम्रोसँग पढाएर भए पनि आफ्नो छाति फराकिलो तुल्याउने । पढाइकै ध्वाँस देखाएर गाउँमा बाहिर निस्कन लायक बन्ने । अतः चारै भाइबहिनीलाई एउटै कक्षामा भर्ना गरिदिएर उनले लखेटी–लखेटी पढाउन थालिन् । पढ्न नमानेमा पिटीपिटी पनि तहमा ल्याउन थालिन् ।
छोराछोरीलाई जसरी पनि पढाउनुपर्छ, हुर्काउनुपर्छ भनी मुटु कसेर लागिरहेकै थिइन् । उनीमाथि दैव फेरि जाइलाग्यो । माइती आएको बखत जसलाई हेरेर चित्त बुझाउँथिन् बच्चाहरुको माया साट्थिन्, यौवनले भर्भराउँदी जेठी छोरीलाई प्रशवकालमा हठात् चुँडाएर दैवले लगिदियो । एक वर्ष नबित्दै जेठी नन्दलाई पनि कुपोषणले सिध्याइछाड्यो । हुर्काई सकिएका सन्तानलाई गुमाउनुपर्दाको पीडा उनीहरुको परिवारलाई भनी साध्य थिएन । सही नसकिने तथा कही नसकिने पीडाबोझले गर्दा योगमाया फेरि विरक्तिन थालिन् । जीवनबाट हार खाएर भाग्ने कोसिस गर्न थालिन् । बाँकी बच्चाहरु माउबिनाका चल्लाहरु जस्तै चिँचीँ गर्दै यताउता भौँतारिन थाले ।
त्यही चिन्ताले उनी यसरी थला परिन् कि गाउँको उपचारले जाग्ने कुनै सम्भावना देखिएन । अतः उनलाई उपचारको लागि भारतमा नलगी नहुने भयो । फलस्वरुप कमलो उमेरकी कान्छी बहिनीको जिम्मामा सारा घरगृहस्थी र लालाबाला छोडेर यज्ञबहादुर योगमायालाई डोकोमा बोकेर महिनौँको लागि विदेशिए ।
उपचार गरेर फर्कँदा दुई छोरीहरुको पढाइ छुटिसकेको थियो । छोराहरुको पढाइ पनि बिग्रनुसम्म बिग्रिसकेको थियो । उनले पुनः बच्चाहरुलाई लाइनमा ल्याएर पढाउन कम्मर कसेर लागिन् तर साहिँली छोरी धनले नपढ्ने नै अड्डी कसिन् । काइँली छोरी मनले केही वर्ष पढ्न बिराएर पुनः पढ्न थालिन्। आमाको करकाप बाबजुद पनि जेठो छोरा कर्णले एकदुई वर्ष पढाइलाई निरन्तरता दिएर पढ्नै छोडिदिए । जो शारीरिक रुपमा एकदमै कमजोर थियो, उसले मात्र पढाइलाई लगनशीलतापूर्वक निरन्तरता दिन थाल्यो । आमाको आशाको केन्द्रबिन्दु ऊ मात्रै देखिन थाल्यो ।
तत्पश्चात् उनको आठौ र नवौँ गर्भबाट छोरा र छोरी जन्मिए । यिनीहरुको नाम प्रकाश र निशा राखियो । त्यसै अवधिमा कान्छी नन्दको बिहे योगमायाले आफ्नै भाइसँग सम्पन्न गरिदिइन् ।
०००
पाँचदशक अगाडि गाउँघरमा विद्यालय नखुलेकै बखत र छोरी मान्छेले पढ्न सक्ने सम्भावना नै नदेखिएको बखत जुन बुहारीले रामायण, महाभारत लगायत धार्मिक शास्त्रका सम्पूर्ण श्लोक कण्ठाग्र गरिसकेकी थिइन्, उनकै अधिकांश छोराछोरीले कलिलो उमेरमै पढाइमा जाँगर मारिसकेका थिए । यो बिडम्बनापूर्ण स्थितिले उनलाई दिक्क तुल्याउँथ्यो । आफ्ना सन्तानको पढ्न सकिन्न भनी व्यक्त लाचारीउपर उनको करकापले हार खाइदिन्थ्यो ।
योगमायाका जोरीपारीका सन्तानले हलक्कै बढेर आ–आफ्ना जोडा खोज्न थालिसकेका थिए । कसैले त समयमै घरजम गरेर घुतुमुने सन्तानसमेत जन्माइसकेका हुन्थे । तर उही उमेरका आफ्ना सन्तान भने अझै दूध खाने बच्चासरह नै देखिन्थे । पढाइ लत्याएर बसेका सन्तानलाई बिहेबारी गरिदिएर घरजममा भुलाउने उनको रहर छिट्टै पूरा हुने सम्भावना थिएन । आफ्ना सन्तानको लागि कुनै जोडी नै नभेटिने पो हुन् कि वा तन्नेरी नहुँदै बुढिने पो हुन् कि भन्ने उनमा अर्को सन्ताप थपिन थाल्यो ।
गाउँका नजिकका स्कूलमा वार्षिकोत्सवहरु आयोजना गरिन्थ्यो, जसलाई गाउँमा नाटक भन्ने गरिन्थ्यो । यस्तो उत्सव चारपाँच दिनसम्म चल्थ्यो । विभिन्न नाच तथा खेलकूदहरुको आयोजना भएको हुन्थ्यो । टाढाटाढाका विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धामा आउँथे । भलिबल खेल्थे, हाइजम्प र लङजम्प खेल्थे, दौड खेल्थे, छेलो खेल्थे । जसको जीउ अग्लो हुन्थ्यो, जसका हातगोडा लामालामा हुन्थे र जो बलियोबाङ्गो हुन्थ्यो, उसैले खेलमा भाग लिन्थ्यो, उसैले खेल जित्थ्यो । उसैले वाहवाह र स्याबासी पाउँथ्यो । होचाहरु प्रतिस्पर्धामा उति देखिँदैनथे । देखिए पनि जित्नै हम्मेहम्मे पथ्र्यो । प्रतिस्पर्धामा उत्रिएका अरुका सन्तानको उचाइ र मोटाइ हेरेर योगमायाले घुटुक्क थुक निल्थिन् र गहभरि आँशु पार्थिन् । वार्षिकोत्सवको उल्लासमय वातावरणमा आफ्ना होचापुड्का सन्तानको मनोविज्ञानमा कस्तो असर पर्योहोला भनी छटपटाउँथिन्। खेल हेरीनसक्दै उनलाई खपिनसक्नु हुन्थ्यो र घरतिर फर्किहाल्थिन् ।
उनको छोरा अब हाइस्कूल पढ्ने भैसकेको थियो । हाइस्कूल सोलाबाङ गाउँबाट पैदल दुई घण्टा टाढा थियो । त्यो स्कूलको वार्षिकोत्सवमा छोराले कर गरेकोले योगमाया पनि अरु साथीहरुसँग उक्लिएकी थिइन् । उनले साथीहरुसँग बसेर विभिन्न खेलहरु हेरेर रमाउँदै थिइन् । उनको छोरा भने आफ्नै साथीभाइसँग भुलेको थियो । योगमाया सँगसँगै बसेका साथीहरु आफ्ना छोराछोरीले उत्साहपूर्वक खेलेको देख्दा खुशीले ताली पिटिरहेका थिए, प्रोत्साहन दिन कराइरहेका थिए, उफ्रिरहेका थिए । योगमाया हेरेको हेर्यै हुन्थिन् । उनले पनि छोराले भाग लिएको देख्न पाए हुन्थ्यो भन्ने त लागेका थियो तर ऊ कतै पनि देखिइरहेको थिएन । खेलकूदका विभिन्न प्रतिस्पर्धाहरुमा ऊ देखिनसक्ने आशा पनि थिएन र भाग लिई हाले पनि जित्ने सम्भावना शून्यप्रायः भएकोले उनी पीडा र आत्मग्लानीले छटपटाइरहेकी थिइन् । खेलहरु हेर्न नआएको भए हुन्थ्यो भनी पछुताइरहेकी थिइन् । उनलाई ईष्र्या र दिक्दारीले एकैचोटी गाँजी ल्यायो । उनी त्यहाँ ठहर्नै सकिनन् र जुरुक्क उठेर स्कूलबाट भाग्दै बाहिरिइन् ।
यसरी आफ्नी आमा स्कूलबाट निस्किएको थाहा पाउनेबित्तिकै उनको खिन्टाउरे छोरो उनलाई फर्काउन बाटोमा आइपुग्यो, “पर्ख आमा । मेरो रिजल्टको पुरस्कार तिम्रो अनुपस्थितिमा सरहरुले मलाई दिँदैनन् । फर्क आमा फर्क !”
छोराको जिद्दीउपर उनले हारिन् र उनी उत्सव समारोहतिर पुनः फर्किइन्। समारोह स्थलमा पुरस्कार वितरण सुरु भैसकेको थियो ।
विभिन्न कक्षाहरुमा र प्रतिस्पर्धाहरुमा सर्वोत्कृष्ट नतिजा हासिल गर्नेहरुको नाम माइकबाट घोषणा हुँदै थियो ।
“कक्षा आठमा सर्वोत्कृष्ट दोस्रो स्थान प्राप्त गर्ने कृपया पूर्णको अभिभावक आउनुभएको छ भने पुरस्कार लिन आइदिनुहोला ।” यो घोषणा सुन्नेबित्तिकै खेल्न नसके पनि आफ्नो छोरोले पनि पुरस्कार पाउँदैछ भन्ने खुशीले उनी उज्यालिइन् । छोरालाई साथमा लिएर मञ्चमा पुगिन् र पुरस्कार थापिन् । आमाछोरा दुवैलाई अबीर घसाइयो । उनीहरु मञ्चबाट ओर्लिए ।
दुईपाइला पछि के सरेका थिए, पुनः उद्घोषकले बोलाइहाले, “हाजिरी जवाफमा प्रथम हुने पूर्ण ओलीको समूह ।”
पूर्णले आमाको हात फुस्कायो र आफ्नो टिमका साथीहरुसँग मञ्चमा उक्लिएर पुरस्कार थाप्यो । आमा चकित परिन् ।
पुनः उद्घोषण भयो, “कविता प्रतियोगितामा प्रथम हुने ” योगमाया मञ्चको तल उभिएर आफ्ना छोरालाई हेरेको हेर्यै भइन् । आश्चर्य र खुशीको मारवस् उनको मुटुको ढुकढुकी बढ्न थाल्यो ।
उनको छोराले हातमा च्यापेको पुरस्कार आमाको हातमा थमाउँदै पुनः फर्केर पुरस्कार बुझ्न मञ्चमा उक्लियो । पुरस्कार बुझेर फर्कियो ।
पुनः उद्घोषण भयो, “कथा प्रतियोगितामा प्रथम हुने, पूर्ण ओली !”
यसरी खेलमा बाहेक अन्य कला प्रतियोगिताहरुमा विजयीको नाम सुन्दा बारम्बार उनकै छोराको नाम दोहोरिइरह्यो । दोहोरिइरह्यो । सायद उनको कानमा यही नाम नै बारम्बार प्रतिध्वनित भैरहेको थियो वा उनले त्यही नाम नै बारम्बार सुन्न चाहिरहेकी हुँदी हुन् ।
अब भने योगमायाको खुशियाली थामी नसक्नुभयो । जुन खुशी सम्पन्न घरकी छोरीबुहारीको नाताले जीवनभर कहिले पनि प्राप्त गरेकी थिइनन्, त्यो त्यही खिन्टाउरे सन्तानको कारणले बल्ल आज प्राप्त गर्न सफल भएकी थिइन्। पुरस्कार बुझ्ने र अबिर घस्ने केटाकेटीहरुको उभारले विद्यालय प्राङ्गण राताम्मे भएको थियो, यसरी कि त्यहाँ अबिरको ठूलो भेल नै उर्लिएको छ । उनको छोरा पनि त्यही भेलभित्र मिसिन पुगेको थियो । हर्षाश्रु बगाउँदै उनले छोरालाई परपरसम्म चियाउन थालिन् । धेरै पटक पुरस्कार बुझ्ने केटाकेटीहरुका अनुहारहरु ठम्याउनै नसकिने गरी अबिरले पुरिएका थिए । उनमा अभिमान जागिसकेको थियो कि सबैभन्दा नचिनिने गरेर अनुहारमा अबिर दलिएको आफ्नै छोरा हुनुपर्छ ।
उनको छोरा नै स्वयं आमालाई खोज्दै केही समयमा उनको सामु आइपुग्थ्यो होला तर उनमा त्यति पनि पर्खने धैर्यता बाँकी थिएन । उनी रातो भेलमा तैरिरहेका बच्चाहरुलाई पन्छाउँदै आफ्नो छोरालाई खोज्दै गइन्। सबैका अनुहारभरि अबिर दलिएकोले अनुहारले मात्र आफ्नो सन्तान चिन्न निकै कठिन हुन गयो । छोराले पनि आमालाई बसेको स्थानमा नभेट्टाएर खोज्दै भौँतारिइरह्यो । निकै बेरसम्म आमाछोराको लुकामारी चलिरह्यो ।
छोरालाई चिन्ने कुनै सीप नचलेपछि त्यो रातोभेलमा जुन केटो सबैभन्दा सानो देखियो, उसैलाई ग्वाम्लाङ्ग अँगालोमा बेरिन् । त्यस केटाले पनि “आमा!” भन्दै उनको अँगालोभित्र चपक्कै टाँसियो । उनले आफ्नो छोरालाई सजिलै चिन्न सकेकोमा थप गौरवान्वित भइन् तर उचाइको कारणले होइन कि होचो हुनुको कारणले ।
उनले छोरालाई उचाल्न खोजिन् तर सितिमिति सक्दै सकिनन् । पुरस्कारको भारले जोरीपारीका छोराहरुभन्दा धेरै गह्रौँ आज त उही पो ठहरियो । उनले पुरस्कारसहित छोरालाई सकीनसकी उचालेर काँधमा राखिन् । आमाको उचाइसमेत आज छोराको उचाइमा थपियो ।
जो स्कूलमै सबभन्दा होचो थियो, उही केटो अहिले सबैभन्दा अग्ला केटाहरुभन्दा पनि अग्लो देखिएको थियो । छोराले पनि बढ्न पुगेको आफ्नो उचाइ हेरी सबैभन्दा अग्ली त आफ्नै आमा पो रहिछन् भनी अनुमान गर्यो । ०००
-लेखक : पुर्ण ओली