
पुर्ण ओली / १९ भदौ ।
नजिकको तिर्थ हेलाँ भनेझैँ नजिकैको गोसाइँकुण्ड यात्रा उपेक्षामा परिरह्यो । गोसाइँकुण्ड जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य हो भन्ने जानकारीमा आएको ४५ सालदेखि नै हो । उहिल्यैदेखि बुनिएको योजना कहिल्यै कार्यान्वयनमा आउन सकेन । कहिले समय, कहिले साथ त कहिले परिस्थिति नमिल्नाले त्यो योजना मनको मनमै रह्यो ।
२०७९ साल भाद्र ९ गते बेलुका । गोसाइँकुण्ड जाने योजना अकस्मात पल्लवित हुन पुग्यो । एकजना मात्र आँटिलो साथी भेटिएमा भोलि ११ गते नै गोसाइँकुण्डको यात्रामा निस्किदिने योजना अफिसका आफ्ना शाखाका साथीहरूलाई सुनाएँ । आफंनो शाखाका करिब करिब सबै साथीहरू र अन्य शाखाका केही साथीहरूसमेतले साथ दिने ईच्छा व्यक्त गर्नुभयो । घरमा पुगेर देवकुमारीलाई योजना सुनाउँदा उनी पनि फुरुङ्ग हुँदै यात्रामा साथ दिने सुर कसिन् ।
काठमाण्डौ (१३२४ मिटर) बाट प्रस्थानः
१० गते । यात्राको पूरा तयारी सकेर अफिस पुगेँ । मन्दिरा र सुनौला बाहेक हिजो जान्छौँ भनेकाहरूले आज जाँगर चलाएनन् । देवकुमारी पनि जाऊँ कि नजाऊँ भन्दै दोधारिएकी थिइन् । तीनजना महिलाहरूलाई मात्र पछि लगाएर लेक चढ्नु मेरोलागि सम्भव हुने कुरा थिएन । योजना तुहिने अवस्थामा पुग्यो ।
जागेश्वर गौतम अफिस आइपुगेर परिस्थिति जस्तो भए पनि यात्रामा साथ दिने निर्णय सुनाए । मैले झटपट गाडी भाडामा लिने चाँजोपाँजो मिलाएँ । राम कार्कीले अरू जाने भए आफू पनि जाने निर्णय सुनाए । मलाई थप ढाढस मिल्यो । अफिसका महिला कर्मचारीहरूलाई दर खुवाउने कार्यक्रम चलिरहेको थियो । त्यो कार्यक्रमलाई बिचमै छोडेर हामीहरू अफिसको गेटमा गाडी कुरेर बस्यौँ ।
दिउँसो २ बजे आइपुग्ने भनेको गाडी देवकुमारीलाई लिएर अपरान्ह साढे चारबजे मात्र आइपुग्यो । गाडी आउनेबित्तिकै पहिल्यै तमतयार भएर बसेका यात्रीहरू गाडीमा चढ्यौँ । मेरो (५५) नेतृत्वमा चालक सुनिलले टोखा हुँदै नुवाकोटतिर गाडी हुँइक्याए ।
सुनौलो गुरूङ गाउँ (२०३० मिटर)ः सुरुङको दाउ
टोखाबाट उकालो लागेपछि शिवपुरी राष्ट्रिय निकुन्ज रहेको भन्ज्याङ काटेर ओरालो झर्न थाल्यौँ । सडक उबडखाबड भएकोले गाडीको गति शून्यतिर झर्यो । तर हामी आत्तिएनौँ । किनभने पहाडको छातीभरि फैलिएको गुरुङ गाउँको मनमोहकताले सडकतिर ध्यान दिने फुर्सद नै दिएन । सुनौला केसी (४०) को मनमिल्ने साथीको घर यतै भएकोले धेरैचोटि यहाँ आएकी रहिछन् । सडकको छेउछाउका व्यवस्थित होटेलहरू औँल्याउँदै उनले गफको नेतृत्व गरिन्: नुवाकोटबाट काठमाण्डौ जोड्ने सुरुङ मार्ग यहीँबाट बन्दै छ । यहाँको जग्गाको मूल्य निकै आकाशिएको छ । झरनाहरू र नुवाकोट हेर्न दिनमा सयौँ मान्छेहरू काठमाण्डौबाट यहाँ आइपुग्छन् । फलफूल तथा अन्न उत्पादनमा अग्रणी छ । तसर्थ यो गाउँ सुनको टुक्रा बन्दै छ । मान्छे सुनका टुक्रा बन्दै छन् । त्यसैले यो गाउँ मलाई पृय लाग्छ । ऊ त्यो गौम गुरुको घर हो । ऊ त्यो फलानो साथीको घर हो ।
विदुर (५५४ मिटर) छैन दुर ।
छहरै छहराले ढाकिएको छहरे हुँदै हामी लिखु खोलाको तिरैतिर कुद्न थाल्यौँ । बेलुकाको सात बज्दा विदुर टेक्यौँ । नाम पनि मान्छेको जस्तो भन्दै देवकुमारी हाँस्दै थिइन् । सायद उनले अनवरत काममा खटिइरहने छिमेकी विदुर चौलागाईलाई सम्झिहोलिन् । मैले महाभारतका विद्वान पात्रलाई सम्झिएँ । एकताका नुवाकोटबाट पनि नेपालको राज्य प्रशासन चलेको थियो ।
झमक्क अँध्यारो भैसकेको थियो । एकैछिनमा रसुवाको प्रवेशद्वार वेत्रावतीलाई पछि पार्यौँ । धारापानीमा गएको पहिरोले बाटो धेरै दिनदेखि अवरुद्ध रहेछ । हामी फर्किएर फेरि वेत्रावती नै पुग्यौँ र डाइभर्सन समातेर उकालोतिर कन्न थाल्यौँ । रुकुममा गाडी पुगेको सुरुको वर्षमा सल्यानको सिमाखोलीको बाटो झलझली सम्झाइदियो । बाटोको कष्ट भुलाउन मैले साथीहरूलाई पहेली सुनाउन थालेँ । करिब आधा घण्टाको संघर्षपछि धारापानीको पक्की सडक भेटायौँ । सुनिलले फेरि पुरानै गतिले गाडी हुँइक्याउन थाले । कालिकास्थान र गुम्बुडाँडा कट्न बेरै लागेन ।
राम राम राम्चे (१८७५ मिटर)ः राम च्याउने थलो
अब हामी बाग्मतीको कर्णालीमा छिरिसकेका थियौँ । भित्रभित्रै ७ वर्ष पहिलेको राम्चेले सातो खाइरहेको थियो । त्यसैमा पानी दर्किन थाल्यो । अँध्यारोमा पहिरोका ढिस्काहरू मात्र देखिन्थे । गाडीको गति क्रमशः ओरालो झर्दै थियो । राम्चेको झिलिमिलिले हाम्रो मनको सातोको झारफुक गरिदियो । दिउँसो भए घना जङ्गल चारैतिर झरिरहेका झरना तलतिर नुवाकोट र मास्तिर रसुवाको रमणीय भूभाग मनग्गे च्याउन पाइने थियो । ५५/५६ सालतिर आर्मीको जागिर खाँदा रामबहादुर कार्की (५०) यतै पोष्टिङ भएकोले उनी राम्चेका ज्ञाता भएकोले राम्चेको बेलिबिस्तार राम्रैसँग गरिरहेका थिए । केही वर्षअगाडि राम्चेमा आएको पहिरोले आर्मी पोष्टका १७ जना सैनिक र दर्जनौँ गाउँलेहरूलाई गाउँसँगै बगाएको रहेछ । यो बाटोमा दुर्घटना भैरहन्छन् । कहाली लाग्दो भीरपाखामा भएको दुर्घटनाले चर्को धनजनको क्षति गराउँदो रहेछ ।
धुन्चे (२०३० मिटर) मा सुनीलको धुन
राम्चे पुग्दा रातको ९ बजेको थियो । राम्चेबाट धुन्चे पुग्न लागेको करिब १ घण्टा १ वर्षजत्तिको लामो लाग्यो । लाङटाङ राष्ट्रिय निकुन्जका रक्षक आर्मीपोष्टमा गाडी र यात्रुको चेक जाँच गरे । यो धुन्चे आइपुगेको संकेत थियो । काठमाण्डौबाट बतासिएको साढे ५ घण्टामै हामीले धुन्चे टेकेका थियौँ । १० बजे बजार छिर्दा धुन्चे मस्त सुतिसकेको थियो । तर हामीलाई त्यसको कुनै परवाह थिएन । कानुन अधिकृत दीपक थापा मगरबाट सनसाइन होटेलको सम्पर्क नम्बर पाएकोले हामी होटेलको नियमित सम्पर्कमा थियौँ । हाम्रो आरामदायी गास बास र कपासको पूर्व प्रबन्ध होटेलवालाले मिलाइसकेका थिए ।
अविरल चलिरहने शितल बतासले हामीले बोकिल्याएको उष्णतालाई धोइपखाली गरिसकेको थियो । धुनलाई त प्रत्येक होटेलका मुनिबाट बग्ने धाराहरू पनि पर्याप्त थिए । गाडी पुग्ने अन्तिम गन्तव्यसम्म हामीलाई छोडिसकेकोले चालक सुनील केसी (३५) फर्के पनि हुने थियो तर भाद्र ११ गतेको बिहानपख पैदल यात्रामा पनि उनी नै अघि लागे ।
घट्टेखोला (१९५० मिटर), मिनी गोसाईँकुण्ड र मन्दिरा
हामी धुन्चेबाट बिहान ५ बजे नै पैदल यात्रा प्रारम्भ गर्यौँ । करिब ३ किमि पार गरेर घट्टेखोला पुग्दा झुस्मुके उज्यालो भयो । नाम घट्टेखोला भए पनि विशाल नदी हुँकार छोड्दै ओरालो बग्दै थियो । कन्चन निलो पानीले हामीलाई मन्त्रमुग्ध तुल्यायो । दुवैतिर ठडिएका पहाडबाट बाक्लो जङ्गल छिचोल्दै अनगिन्ती झरना झरिरहेका थिए । खोला किनारमै मिनि गोसाइँकुण्ड रहेछ । मस्त जवानीले मात्तिएर बगेको खोलाले मन्दिरा खडका (२५) लाई क्यामेरा निकाल्न बाध्य तुल्यायो । उनी खोलामा यसरी हराइन् कि अब गोसाइँकुण्डमा पुग्नु नै छैन । उनको धित नमर्दै घट्टेखोलाको किनारै किनार ढलान गरिएको पदमार्ग हुँदै हामी उकालो चढ्न थाल्यौँ । अघि अघि लागेर क्यामेरा तेर्स्याउँदै मन्दिराले हाम्रो बाटो छेकिरहिन् ।
खेँदी (२३०० मिटर) गोसाइँकुण्डको फेदी
घट्टेखोलाबाट थोरै उकालो चढ्नेबित्तिकै दुईतीनवटा होटेलहरू भेटिए । नाम खेँदी रहेछ । मास्तिरको बाटो भने ढलान गरिएको रहेनछ । बाटो बाटोमा काठको र ढुङ्गाको चौतारी तथा विश्राम स्थलहरू निर्माण गरिएको रहेछ । हामी विश्राम स्थलमा बसेर आफूले झोलामा बोकेर ल्याएका बिस्कुटलगायतका ड्राइफुड झिकेर चियासँग बुकायौँ ।
घट्टेखोलादेखि नै एउटा कुकुरले हामीलाई पछ्याइरहेको थियो । गोसाइँकुण्डका यात्रीहरू कोही तलतिर झरिरहेका थिए भने कोही माथितिर उक्लँदै थिए । प्रत्येक समूहमा एक एकवटा कुकुरहरू पछि लागेका देखिन्थे । पण्डितका घरका मुसा पनि पण्डित भनेझैँ यतातिरका कुकुरहरू पनि लुखुरलुखुर यात्राका पारङ्गत भैसकेछन् । ठाडो उकालोले थकाइ बढ्दै जाँदा जीउले लठ्ठीको सहारा खोज्न थाल्यो । कोही माथिबाट झर्ने यात्रीले आफूल ल्याएको लठ्ठी हामीलाई सुम्पिए ।
देउरालीकी (२५०० मिटर) देवकुमारीः खै ओराली ?
खेन्दीबाट ठाडो उकालोमा घस्रिँदै २ किलोमिटर पार गरेर साढे ८ बजेतिर हामी देउराली आइपुगेका थियौँ । बाटोको वरिपरि तीनचारवटा होटेलहरू थिए । होटेल देखेर खेँदीमा खुवाएको चारोमा चित्त नबुझाई पेटमा भोकका कीराहरू सलबलाउन थालेका थिए । ओठमुख रसुवा बनेका थिए । तर साढे आठमै यहाँ खाना पाइने सम्भावना कमै थियो । देवकुमारी ओली (५३) ले गुनासो गरिन् नेपालमा धेरै ठाउँमा देउराली नाउँका गाउँहरू छन् । सामान्यतया देउराली पुगेपछि बाटो ओर्लन थाल्छ । यहाँबाट बाटो ओर्लनु पर्नेमा किन अझै बाटो मास्तिर ठाडियो ?
ढिम्सा (२९०० मिटर) को ढिलाइ र ढाक्रेको ढुकाइ
भोक र थकानले गलाउँदै लगेकोले अब आउने होटेलमा खानाको तयारी गर्न राम कार्कीलाई अघि लगायौँ । उकालो यति ठाडो थियो कि वर्षौँ सैनिक परेड खेलेका राम कार्कीलाई समेत थकाइदियो । हाम्रो दुरी उति बढ्न सकेन । बरू हामीलाई पछ्याउँदै आएको ढाक्रे (कुकुर) पो अघि लाग्यो । ढाक्रेले जता जता बाटो देखाउँथ्यो हामी उतै उतै उक्लन बाध्य थियौँ । २.५ किमिको दुरीलाई पूरै डेढ घण्टा लगाएर घना जङ्गलको बिचमा रहेको सानो बस्तीमा आइपुग्यौँ । यहाँ आधा दर्जनजति होटेलहरू रहेछन् । ठाउँको नाउ ढिम्सा रहेछ ।
होटेल भए पनि आफैले खाना पकाउनुपर्ने देखिएकोले भान्छामा सुनौला खटिइन् । हामीसँग आएको कुकुरले के के पकाउँदा रहेछन् भनी खुब चाख दिएर हेर्यो । हामीले साथमा ल्याएको बिस्कुट, रोटी तथा जेरी दिँदा पनि उसले सुँघेर लत्याइदियो । जङ्गली च्याउको तरकारी र सादा दालभात मात्र पाकेको देखेपछि शाकाहारी यात्रीको पछि लागेकोमा पछुताउँदै त्यस ढाक्रेले हाम्रो साथ नै छोडिदियो । उसको सट्टा बरू अर्कै कुकुरले यात्रामा साथ दिने प्रतिवद्धता प्रकट गर्यो ।
चन्दनबारी (३२५० मिटर)ः बन्धन पारी
खाना पकाएर खान हामीलाई २ घण्टा लाग्यो । भकभकी उम्लिएको पानी गिलासमा हाल्दासम्म सेलाइसक्थ्यो । तरकारी जति भुटे पनि पाक्न मान्दैनथ्यो । मनतातो खानाले तन मन तातो बनाइसकेपछि १२ बजे फेरि हामी निरन्तर उक्लन थाल्यौँ । कुहिरो यति बाक्लिन पुग्यो कि को अघि छौँ र को पछि छौँ भन्ने समेत यकिन हुन सकेन । आफ्नै पाइताला ठम्याउन गाह्रो हुने बाक्लो कुहिरोले पछिल्लो कुकुर यात्रीको समेत सातो खाइदिएकोले हामीलाई केही उकालो कटाएर गायब भैसकेको थियो । करिब १ किलोमिटरको उकालो बाटो चढेपछि रङ्गीचङ्गी होटेलहरूको थुप्रो देखियो । नाम चन्दनबारी रहेछ । टासी डेलेक होटेलमा बसेर भर्खरै पोलेका आलु बुत्याउन थाल्यौँ र होटेल साहुजीलाई भोलि खाना खान यहीँ आइपुग्ने वाचाबन्धन गर्यौँ । खाना खान त यतै उक्लनुपर्ने भन्दै चन्दनबारीले ढिम्साले खाइदिएको २ घण्टाको थकथकी लगाइदियो ।
छलाङ मारीः चोलाङपाटीः (३५५० मिटर)
चन्दनबारीमा ढिला नगरेर फेरि उक्लिन थाल्यौँ । बाटो तेर्छै तेर्छो थियो । हिँडाइमा स्फुर्ति सिर्जना भयो । हामीले समथर बाटोमा छलाङ मार्न थाल्यौँ । कोभन्दा को कम भनेझैँ सातैजना अघि अघि लाग्ने प्रयास गर्यौँ । लाग्यो अब यस्तै तेर्छै तेर्छो पार गर्दै केही समयभित्रै गोसाइँकुण्ड नै पुग्नेछौँ । करिब ५ किलोमिटरको तेर्सो तर अति नै चिप्लो बाटो डेढ घण्टामा पार गरेर अर्को सानो बजारमा आइपुग्यौँ । नाम चोलाङपाटी रहेछ । तीन चारवटा मात्र होटेल थिए र ती सबै यात्रीहरूले खचाखच थिए । सबैले चौलानी पिइरहेका जस्ता देखिन्थे । चोलाङपाटीमा चिया खाएर हामी फेरि उकालो लाग्यौँ । यहाँदेखि मास्तिर बाटो सिमेन्टले ढलान गरिएकोले हिँडाइ त सजिलो भयो तर उकालो त कहाँ सजिलो थियो र । जता हेर्यो कुइरीमण्डल थियो । मान्छेलाई उडाएर लैजालाजस्तो मुटु ठिहिर्याउने कुइरोको हुरी चलेको थियो । वारिपारि पटक्कै केही देखिन्नथ्यो । करिब २ किलोमिटरको दुरी पार गरेर चार बजेतिर हामी लौरीबिना आइपुग्यौँ ।
लौरी विनामा जागेश्वर जागे (३९०० मिटर)
करिब २ किमिको उकालो बाटो डेढ घण्टामा पार गरेर हामी लौरीविना भन्ने ठाउँमा आइपुगेका थियौँ । यहीँबाट सुरू हुँदोरहेछ लौरीबिनाको उकालो । तर यसको नाम बिगारेर लौरीविनायक भन्न थालिएको रहेछ । हुनसक्छ हुँदा हुँदा कसैले लोरे-भिनानै भन्न थाल्लान् ।
अहिलेसम्म ११ घण्टामा हामीले १७ किलोमिटरको दुरी तय गरेका थियौँ । हामीसँग गोसाइँकुण्ड नै पुग्ने समय पर्याप्त बचेको थियो । तर माथि उक्लने आँट गर्न सकेनौँ । प्रमुख कारण के थियो भने ४ हजार मिटर माथिको उचाइदेखि लेक लाग्न सक्थ्यो । लगातार उचाइ चढ्दा लेक लागेर ज्यान जान सक्थ्यो । अर्को कारण गोसाइँकुण्डमा पर्याप्त होटेलहरू भए पनि तिनीहरू जनैपूर्णिमालाई लक्षिति गरी खुलेकोले अफसिजनमा भने खुल्दैनथे । गोसाइँकुण्ड पुगेमा बास नपाउने सम्भावना प्रबल थियो । अन्तिम तर अन्तरिम कारण के थियो भने माथि गासबासको चर्को खर्च (प्रति व्यक्ति १८०० रुपैँयाभन्दा माथि नै) बेहोर्नुपर्दथ्यो । अति नै मितव्ययी बनिटोपलेका हामी यात्रीलाई अधिक खर्च वाञ्छनीय थिएन ।
हामीले चारबजे नै लौरीबिनामा रहेका दुई होटेलमध्ये त्यस दिन खुलेको होटेल माउन्टभ्यूमा बास बस्ने निधो गर्यौँ । बाहिरी भित्ता मात्र स्लेटजस्ता ढुङ्गाले र बाँकी भाग काठैकाठले बनेको होटेलको भित्री भाग निकै विशाल थियो । दुई दर्जनभन्दा बढी नै कोठाहरू थिए । खाटमा पल्टिन नपाउँदै मलाई हनहन्ती ज्वरो आउन थाल्यो । पानी यति ठण्डा थियो कि औँलाको टुप्पा चोप्दा समेत मुटुमा सिर्का हान्थ्यो । ज्वरो र अतिशय ठण्डीले गर्दा जीउ झाँक्री काँपेझैँ काँपिरहेको थियो । सास फेर्न समेत निकै कठिन हुनगयो । माथि नगएर ठीकै गरेछुजस्तो लाग्यो । आज भुइँकुहिरोले सताएपनि भोलि मौसम सफा हुने कामना गर्दै हामीहरू सिरकमा गुटमुटियौँ ।
सात बजेतिर खाना खाएर सुतेका हामीहरू बाह्र बज्दा नै ब्युँतिसकेका थियौँ । आधाराति जाग्ने र साथीहरूलाई जगाउने त जागेश्वर नै थिए । बाहिर मुसलधारे पानी बर्सिरहेको थियो । चिसो अरू थपिएको थियो । चारबज्दासम्म पनि वर्षा पटक्कै थामिएन । यस्तै झरीमा जागेश्वरको नेतृत्वमा हामीले भाद्र १२ बिहान साढे चारबजे गोसाइँकुण्डतिरको यात्राको सुरुवात गर्यौँ । बाटो चकमन्न अँध्यारोले खर्लप्पै निलेको थियो । जङ्गल तथा भीरपाखा नभएकोले जता पायो उतैबाट उक्लन स्वतन्त्र थियौँ । अँध्यारो र निरन्तरको वर्षातले बाटो पग्याउन नै मुस्किल भैरहेको थियो ।
करिब एक किमिको दुरी पार गर्दा बाटोको रुपरेखा देखिन थालेको थियो । झरीमा नाङ्गै भिजेका टाकुराहरू देखिन थाले । हामी चारहजार मिटरभन्दा माथिको उचाइमा आइपुगेका थियौँ । आजको नेतृत्वकर्ता जागेश्वर पछि पर्न थालिसकेका थिए । जागेश्वरले स्वाँस्वाँ गर्दै थिए । बान्ता गर्न थाले । देवकुमारीले पनि बान्ता होलाजस्तो भयो भन्दै बाटोमै थचक्क बसिन् । बाँकी हामीहरूको पानी सास फुलेर स्वाँस्वाँ बढिरहेको थियो । यो लेक लागेको लक्षण थियो । यो अवस्थालाई बेवास्ता गरिएमा ज्यान जान सक्ने सम्भावना थियो ।
जागेश्वरलाई झट्ट तलतिर ओर्लन सुझाव दियौँ । देवकुमारीलाई सम्हाल्दै म ठाउँको ठाउँ उभिएँ । राम कार्कीले सबैलाई लसुन खुवाए । अरू साथीहरूको पनि गति मत्थर भैसकेको थियो ।
केही बेरमा जागेश्वर एक एक पाइला सार्दै पुनः माथि उक्लिन थाले । जागेश्वर फर्की आएको देखेर देवकुमारीले पनि खुट्टा चाल्न थालिन् । केही भैहाले तल झरौँला नि त भन्दै हामीहरू पनि माथि उक्लन थाल्यौँ । नब्बे प्रतिशत तय गरिसकेको यात्रा बिचमै त्याग्न कोही मन्जुर देखिएन ।
बुद्ध मन्दिरः प्रबुद्ध मन्दिरा (४१५० मिटर)
ठाडो नदेखिए पनि उकालो निकै अप्ठ्यारो थियो । हामी शंखेकीराजस्तै घिस्रिरहेका थियौँ । उज्यालो भैसकेको थियो तर पानी पर्न रोकिएको थिएन । मुटु ठिहिर्याउने चिसो हुरी चलिरहेको थियो । सानासाना छाता ओढे पनि हाम्रा जुत्ता लुगा र झोलासमेत निथ्रुक्क भिजिसकेका थिए । तलैबाट देखिएको टाकुरो हाम्रो सामुन्ने आइपुग्यो । टाकुरोमाथि बुद्धको मूर्ति थियो र ढुङ्गे मन्दिर बनाइएको थियो । छेउमा व्यवस्थित विश्रामस्थल पनि बनाइएको थियो ।
जीउका पूरै लुगा भिजेकोले मोबाइल जोगाउनुपर्ने चुनौती थियो । गोजीबाट मोबाइल निकालेर फोटो खिच्ने जोखिम कसैले उठाएका थिएनौँ । यसै बखत मन्दिराले जोखिम मोल्दै वर्षेहुरीको परवाह नगरेर मोबाइल क्यामेरा तेर्छ्याउन थालिन् । कुहिरोभन्दा पछाडि देखिने दृश्य लोभलाग्दो थियो । साना साना चुचुराहरू धेरै तल परिसकेका थिए । हामीसँग थोरै मात्र अग्ला चुचुराहरू बाँकी थिए । बुचा मनका होचा चुचुराहरूको साथ छोडेर हामी अग्ला चुचुराहरूसँगै अग्लिएका थियौँ । हामी काठमाण्डौ खाल्डोको तुच्छ हल्लीखल्लीलाई तलै छोडेर दुईवटा चन्द्रागिरीको उचाइमा आइपुगेका थियौँ ।
यसभन्दा अगाडिको बाटोमा फलामको रेलिङ लगाइएको थियो । रेलिङले तलको भीर देखेर आँखा रिङ्नेहरूलाई ढाढस दिँदोरहेछ । अब गोसाइँकुण्ड पुग्न २.५२ किमि मात्र बाँकी थियो । टाकुरोमा पुगेपछि बाटो ओरालो लाग्ला भनेको हाम्रो अनुमान पुनः मिथ्या ठहरियो । प्राकृतिक रुपमै ढुङ्गाहरू बिछ्याइएको बाटोले घरी तेर्सिँदै त घरी उक्लँदै गरिरह्यो । विविध रङका चट्टानयुक्त बन्जर पहरलाई खोपेर बाटो बनाइएको थियो । पारि देखिने बाटो भीरमा झुन्डिएझैँ लाग्थ्यो ।
गोसाइँकुण्ड (४३८० मिटर)ः गन्तव्यको टुङ्गो
डेढ घण्टामा अढाइ किमि दुरी पार गरेर हामी अर्कै संसारमा आइपुगेका थियौँ । महादेवले विष पिएझैँ हामीहरू पनि लडखडाउँदै र ढुनमुनाउँदै कुण्डको पानीले प्यास मेटाउन हिँडिरहेका थियौँ । पारि सानो सरस्वति कुण्ड देखा पर्यो । हाम्रो मन चङ्गा बनेर फिरफिराउन थाल्यो । अलि नजिक पुगेपछि पहाडी खोँचमा उत्तानो सुतेको निलो भैरव कुण्ड देखियो । अन्तमा हाम्रो गन्तव्य निलाम्मे गोसाइँकुण्ड नै सामुन्ने आइपुग्यो । वारिपारिको रमणीयता अवर्णनीय थियो । ताल, चुचुरा, भूबनोट सिद्धहस्त कालीगढले मिहिनरूपमा हातैले बनाएको जस्तो देखिन्थ्यो । हामी गोसाइँकुण्डको मोहनीमा लठ्ठियौँ ।
वर्षाद् ठण्डी र लेकलाग्ने बिरामीबाट आफूलाई बचाउनुपर्ने भएकोले सुरूमा एउटा टिनको झुप्रोभित्र पस्यौँ । त्यो एकजना भट्टराई थरका बाहुनले बनाएको झुप्रो रहेछ । उनले यात्रुहरूलाई बोलाउँदै निशुल्क तातोपानी र चिया खुवाइरहेका थिए । खाजा र भात खान पनि अनुरोध गरिरहेका थिए । उनले गोसाइँकुण्डको विषयमा यावत जानकारी दिँदै पूजाआजाको तौरतरिका समेत सिकाइदिए । हामीलाई साक्षात महादेव उत्पन्न भएजत्तिकै अनुभूति भयो ।
साथीहरूले लुगा फुकाल्दै कुण्डको पानी जीउमा खन्याउँदै गरिरहेका थिए । कोही सलक्कै पोल्ने ठ्डापानीमा छप्लाङछुप्लुङ गरिरहेका थिए । अरूहरूले मन्दिरमा विधिपूर्वक पूजाआजा पनि गरे । देवकुमारी र मैले स्वर्गीय आत्माहरू परिशीलन, आमा र ससुराबालाई सम्झँदै जल अर्पण गर्यौँ । सक्नेहरू नजिकै रहेको त्रिशुलधाराको झरना पनि अवलोकन गरे ।
रुन्चे अनुहार लिएर फेरि धुन्चेतिरै
करिब दुई घण्टा कुण्डमै बिताएर हामी फर्किन थाल्यौँ । पानीको झरी उसरी नै दर्किरहेको थियो । फर्कँदा बाटो ओरालो पर्ने भएकोले पछिकोलाई भेट्टाउनै नदिएर देवकुमारी अघि अघि कुद्न थालिन् । मैले उनलाई पछ्याएँ । केही समयपछि बाँकी साथीहरूले हामीलाई पछ्याउन थाले । जति ओर्लिए पनि कहिल्यै नसकिने ओरालोले उकालोभन्दा पनि बढी अत्याइदियो । घुँडा दुखेर खुम्च्याउन नमिल्ने हुँदै थिए । पाइतालाहरू भतभती पोलिरहेका थिए । अपितु हाम्रो आजको गन्तव्य धुन्चे नै थियो । जुन ठाउँ पुग्न २७ किलोमिटरको दुरी पार गर्नुथियो । जीउले मनलाई साथ दिन सक्दिन भन्दा पनि हामी खोच्याउँदै खोच्याउँदै थकित एवम् गलित जीउलाई निरन्तर ओरालोतर्फ घिसारिरह्यौँ । चन्दनबारीको टासी डेलेक होटेल बन्द भएकोले खाना खाने अर्को होटेल खोज्नुपर्ने भयो । ग्रिन हिल होटेलमा दिउँसो २ बजे मात्र भात खान पायौँ । अझै तल झरेपछि ढिम्साले चिया पिलायो । उँभो उक्लँदा बेपरवाह भएका देउरालीका जुकाहरूले कसैलाई नबिराएर चुम्बन गरेर भव्य स्वागत गरे । खेँदी र घट्टेखोलाले सुस्साएर स्वाग गरे । निरन्तर १५ घण्टाको कुँदाइपछि धुन्चे पुग्दा अँध्यारो भैसकेको थियो ।
सकुशल कान्तिपुर फिर्ता
भोलिपल्ट भाद्र १३ गते बिहानै हामीले धुन्चेमै छोडेको भाडाको गाडीबाट कान्तिपुरतिरको यात्रा सुरू गर्यौँ । दशएघार बजेतिरै अफिस पुग्ने लक्ष्य थियो । धुन्चे आर्मीपोष्टले लौरी खोस्दा लौरीबिनाका भयौँ । निउरो नलग्न चेतावनी दिँदा निहुरियौँ । राम्चे पुगेर वारिपारिको रमणीय स्थलहरूको राम च्यायौँ । कालिकास्थान पुगेर खाजा खायौँ । धारापानीबाट डाइभर्सन समात्यौँ । मालवाहक गाडीले चिरेका खाल्डाहरूबाट गाडी जोगाउन सुनिललाई महामुस्किल पर्यो । केही पर मालवाहक गाडी पहिरो पार गर्न नसकेकोले हामीलाई अरू ढिला गरिदिए । वेत्रावती नपुग्दै हाम्रो गाडीको बिग्रिएकोले चिल्लो सडकमा चिप्लेकीराझैँ घिस्रिन थाल्यो । विदुरको वर्कशपमा २ घण्टा लगाएर मर्मत गर्दा समेत बनेनछ । फलस्वरुप गाडीले गुरुङ गाउँ चढ्नै गाह्रो मान्यो । २ बजेपछि मात्र गुरुङ गाउँको एक होटेलमा पुलाउसहितको मिठो खाना खायौँ । शिवपुरी जङ्गल पार गरेर कान्तिपुर प्रवेश गर्दा अपरान्ह चार बजिसकेको थियो ।
यसरी आफूले जानेको कुरा अरूलाई बताउँदै र हरेकले सकेको नेतृत्व गर्दै चार दिनमा दुर्लभ एवम् मिठा अनुभूति संगालेर हामी सकुशल आआफ्नो निवासमा फिर्ता भयौँ ।

गज्जब नियात्रा। गोसाइँकुण्ड जाने तिर्सना थपियो। वा जान पाइएनछ भने पनि तृप्त भयो अर्को मन।