रुकुम पूर्व संवाददाता १६, साउन ।
रुकुम (पूर्व) काे भूमे गाउँपालिका वडानम्बर -३, सिमाको वडा कार्यालय भवन, चिस्यान केन्द्र र सुत्केरी भान्सा घर निर्माणको लागि जग्गा व्यवस्थापन गर्न सहयोगबाटै रकम जम्मा गर्ने गरिएको छ ।
भूमे गाउँपालिकाले क्रमश: वडा कार्यालयहरुलाई व्यवस्थित तथा पक्की संरचना निर्माण गर्ने योजनाका साथ अगाडि बढाएको हाे। जस अन्तर्गत भुमे गाउँपालिका वडानम्बर -३, सिमामा रहेको वडा कार्यालयले हाल कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको छ ।
सोही अनुरुप वडा कार्यालयलाई पक्की भवनको लागि जग्गाको व्यवस्थापन गर्न सहयोग संकलनकाे काम जारी रहेको छ । जसमा हाल सेवा प्रवाह गर्दै आएको वडा कार्यालयको जग्गा नयाँ संरचना अनुसारको भवन निर्माण गर्नको लागि मापदण्ड अनुसार जग्गाको क्षेत्रफल अपुग भएकोले ३ नम्बर वडालाई नयाँ ठाउँमा जग्गाको व्यवस्थापन गर्न आवश्यक रहेको बताइएको छ।
हाल भूमे गाउँपालिका ३ नम्बर वडा कार्यालय सिमामा रहेको कारण थप सिमावासीलाई जग्गा व्यवस्थापन गर्नमा सकस परेको र सिमावासीले गाउँको बैठक बसेर एक निर्णयका साथ उक्त वडा कार्यालयको जग्गा व्यवस्थापनलाई कसरी निरन्तरता दिन र व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेर निर्णयमा पुगेको स्थानीय युवा तथा बुद्बिजीवी चन्द्र रसाईलीले जानकारी दिनुभएको छ ।
उक्त निर्णलाई कार्यान्वयनमा लैजानको लागि सिमामा रहेको श्री हरियाली जनयुवा कल्व र भूइचाले सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मेवारी दिएर सहयोग उठाउने क्रमलाई अगाडि बढाउने निर्णय भएको रसाईलीकाे भनाइ रहेको छ ।
सिमा वस्तीका स्थानीयहरु वैदेशिक रोजगारमा भएकाहरुबाट आवश्यक सल्लाह र सुझाव लिएर उहाँहरुबाट पनि सहयोगको लागि अपिल गर्ने र प्रत्येक घरबाट सकेजति सहयोग उठाउने निर्णय भएको बताइएको छ।
इच्छा र चाहानालाई केही कुराले पनि छेक्न नसक्ने हरियाली जनयुवा कलवका अध्यक्ष फर्क बहादुर पुनकाे भनाइ रहेको छ । त्यस्तै भूइचाले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरी पुनले पनि गाउँ समाजलाई एकतामा बाढ्नको लागि राम्रो कामको थालनी भएको बताउनुभएको छ ।
सो अभियानलाई सहयोग गर्ने सहयोगी हातहरुलाई सिमा जग्गा व्यवस्थापन समितिले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । जसमा हाल वडा कार्यालयको व्यवस्थापनका लागि सबै कुरा करिब अन्तिम चरणमा रहेको र बाँकी व्यवस्थापनको लागि सहयोग उठाउने क्रम जारी रहेकाे शिक्षक तथा बुद्बिजिवी फर्क बहादुर पुनले जानकारी दिनुभएको छ ।
त्यस्तै अर्का स्थानीय राजन पुनले पनि आगामी सन्ततिका लागि सहज र व्यवस्थित सेवा प्रबाहको लागि पक्की भवनको जग्गा व्यवस्थापनमा जुटेकाे बताउनुभएको छ ।
गत शनिबार बसेको गाउँको वैठकबाट वडा कार्यालयको जग्गाको लागि आवश्यक रकम जग्गाधनीलाई हस्तान्तरण गरेर अब जग्गा पासको लागि वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।