
रुकुम पश्चिम ३, बैशाख ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नगरमा कार्यरत करार शिक्षकको करार सम्झौता नवीकरण नगर्ने भएको छ । शनिबार बसेको नगरकार्यपालिको ७८औं बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले करारमा कार्यरत २ सय ४६ जना शिक्षकको करार सम्झौता रद्द गर्ने निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिनुभएको छ । पालिकाले पुनः नयाँ भर्ना खोलेर करार शिक्षक नियुक्त गर्नेछ, तर कति जना शिक्षक भर्ना गर्ने भन्ने एकीन नभएको प्रवक्ता घर्तीको भनाइ छ ।
त्यसका साथै नगरपालिकाले विद्यालय मर्जको अभियान संचालन गर्ने र त्यसका लागि विद्यालय मर्जका विषयमा अध्ययन गर्न कार्यदल पनि निर्माण गरेको छ । वैशाख २० गतेसम्म नगरका सबै ठाउँमा पुगेर छलफल गर्ने र त्यसपछि विद्यालय मर्जका विषयमा निर्णय गर्ने नगरकार्यपालिकाले निर्णय गरेको छ ।
त्यस्तै बैठकले सबै जनप्रतिनिधिले २ महीनाको सेवा सुविधा नलिने पनि निर्णय गरेको छ । करार शिक्षकको तलबभत्ता व्यवस्थापन लगायत अन्य प्रयोगका लागि सबै जनप्रतिनिधिले खाइपाइ आएको २ महीनाको सेवा सुबिधा नलिने कार्यपालिका बैठकले निर्णय गरेको बताइएको छ ।
