रुकुम पश्चिम ३, बैशाख ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दुई महीनाका लागि जनप्रतिनिधिले पाउँदै आएको सेवासुबिधा नलिने निर्णय गरेको छ । नगरपालिकाको १५औं कार्यपालिका बैठकबाट स्थानीय तहका पदाधिकारी र सदस्यले पाउने सुविधासम्बन्धी बनेको ऐन, २०७७ बमोजिम दुई महिनाको सुविधा नलिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता खुम बहादुर खड्काका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार जनप्रतिनिधिको बैठक भत्ता, भ्रमण लगायत सुबिधामा कटौती गर्ने निर्णय गरिएको छ । चालु आर्थिक वर्षमा राजश्व सङ्कलन कम हुँदा इन्धन, सवारी मर्मत र भ्रमणमा ५० प्रतिशत कटौती गरिएको छ ।
त्यस्तै नगरपालिका क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने उमेर पुगेका जोडीले अन्तरजातीय विवाह गरेमा रु. १ लाखसम्म प्रोत्साहन वापतको रकम उपलब्ध गराउने यसअघिको निर्णय कार्यान्वयनमा ल्याएको छ । जस अनुसार वडानम्बर -३, निवासी सरोज बटाला र चौरजहारी नगरपालिका -७, बस्ने कमला परियारले अन्तरजातीय विवाह गरी प्रोत्साहन रकमका लागि कागजात पेस गरेबमोजिम निज जोडीलाई रु. १ लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको बताइएको छ ।
कार्यपालिका बैठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार विनियोजन भएका विभिन्न कार्यक्रमहरू कार्यान्वयनका लागि अनुसूची २ बमोजिम प्राप्त आम्दानी र खर्चको विवरण अनुमोदन गरी सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।