रुकुम पश्चिम ६, फागुन ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यसम्पादन मुल्याङकनमा रुकुम पश्चिमका ६ वटा स्थानीय तह मध्ये उत्कृष्ट पालिका बनेकोे छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा ७२ दशमलव २९ अंक प्राप्त गदै जिल्लाको उत्कृष्ट पालिका बनेको हो ।
आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङकनमा रुकुम पश्चिममा त्रिवेणी गाउँपालिका प्रथम बनेको छ ।
आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मुल्याङकन गरेको थियो । त्यस्तै कार्यसम्पादन मूल्याङकनमा आठबिसकोट नगरपालिकाले ७० दशमलव ९३, चौरजहारी नगरपालिकाले ७० दशमलव ९०, सानीभेरी गाउँपालिकाले ७० दशमलव ४१, बााँफिकोट गाउँपालिकाले ६८ दशमलव ९७ र मुसिकोट नगरपालिकाले ६६ दशमलव ५९ अङ्क प्राप्त गरेका छन् ।
आयोगले विभिन्न १७ वटा सुचकमा मुल्याङकन गरेअनुसार २०७९ असार १० गते भित्र आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेस गरे नगरेकोलाई पहिलो सूचक बनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेको ,स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्तसम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको आव २०७८/०७९ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, आव २०७८ र ०७९ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७७ र ०७८ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७८/०७९ मा कूल विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत खर्च रकम, आव २०७७/०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचक बनाइएको छ ।
शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औसत खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्या, आव २०७८/०७९ मा चारपटक गर्भजाँच गर्ने महिलाको सङ्ख्या, आव २०७८/०७९ मा २४ महीनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या र पूर्णखोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक बनाई आयोगले मुल्याङकन गरेको थियो ।