रुकुम पश्चिम १४, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अनुदानमा किसानलाई बाख्रा वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन केन्द्र मार्फत बाख्रा वितरण गरेको हो ।
चालू आर्थिक वर्ष ७९/८० को बाख्रा पकेट विकास कार्यक्रमबाट वडानम्बर -१, मा रहेका ११ वटा समुह, सहकारी र फार्मलाई १५ लाख बराबरको बोका र बाख्रा वितरण गरिएको नगरपालिकाले बताएको छ । नगरउपप्रमुख विमल कुमार पुनका अनुसार महिलाको आय आर्जनका लागि बाख्रा पकेट क्षेत्र घोषणाका आधारमा ५० प्रतिशत अनुदान रकममा बाख्रा दिइएको छ ।
उहाँले समुह र सहकारीमा आवद्ध रहेका प्रति किसानलाई २/२ वटाका दरले बाख्रा वितरण गरिएको जानकारी दिनुभएको छ । त्यस्तै तीनवटा फार्मलाई भने १/१ वटा बोका उपलब्ध गराइएको छ ।
यसबाट वडानम्बर -१, का ११ वटै समुह, सहकारी र फार्ममा रहेका १ सय बढी महिला किसान लाभान्वित भएको र उनीहरूको आय आर्जनमा थप सहयोग पुग्ने बताइएको छ ।
त्यस्तै नगरपालिका अन्तर्गत पशु शाखा प्रमुख सरस्वती सापकोटा खड्काले बाख्रा वितरण पूर्व किसानलाई तालिम दिइएको बताउनुभएको छ । त्यससंगै औषधि र बिमाको पनि व्यवस्था गरिएको उहाँको भनाइ छ ।
नगरपालिकाले यस चालु आर्थिक वर्ष देखि आफैले बाख्रा खरिद गरेर किसानलाई वितरण गर्ने प्रणालीको अन्त्य गरेको बताएको छ । त्यसका लागि यहाँका समुह, सहकारी र फार्मको खातामा अनुदान रकम पठाएर मात्रै किसानले आफै बाख्रा खरिद गरेका छन् । बाख्रा खरिद पछि नगरपालिकाले हाल त्यसको प्रत्यक्ष अनुगमन गरेर वितरण गर्ने अभियान चलाएको छ ।
बाख्रा पकेट वडाका किसानले समेत बोका र बाख्रा खरिदमा ५० प्रतिशत रकम लगानी गरेका छन् ।