आमा बाबु स्मृति प्रतिष्ठानले प्रदान गर्यो विद्यार्थीलाई छात्रवृत्ति
64x64
२०८० जेठ ०५ शुक्रबार प्रेसपालिका संवाददाता
1226 Views

रुकुम पश्चिम ५, जेठ ।
रुकुम पश्चिमको बाँफिकोटमा रहेको आमा बाबु स्मृति प्रतिष्ठानले गाउँपालिकामा अध्ययनरत विद्यार्थीलाई तेस्रोपटक छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले शुक्रबार ४४ वटा सामुदायिक विद्यालयका १ सय ४ जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।

आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षकोषका अध्यक्ष चन्द्रबहादुर केसीका अनुसार छात्रवृत्ति वितरण कार्यक्रम मार्फत तीन लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ । उहाँका अनुसार ५० जना छात्र र ५४ जना छात्रालाई  छात्रवृत्ति प्रदान गरिएको छ ।

जसअन्तर्गत १४ जना जेहेन्दार, ३२ जना टुहुरा, १२ जना सहिद परिवार र ४६ जना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरिएको छ । अक्षकोषमा जम्मा भएको ३३ लाख ४ हजार १५ रकम मध्येको वार्षिक व्याजबाट विद्यार्थीलाई झोला, कापी, कलम लगायत शैक्षिक सामग्री प्रदान गरिएको बताइएको छ ।

२०७६ सालमा स्थापना भएको आमा बाबु प्रतिष्ठानले ०७७ सालदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयका केही विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गर्दै आएको छ । आर्थिक रुपमा विपन्न, सहिद परिवार, टुहुरा, शारीरिक रुपमा अशक्त र जेहेन्दार विद्यार्थीलाई मात्रै प्रतिष्ठानले हरेक वर्ष प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्दै आएको बताएको छ ।

गाउँपालिका भित्र जन्मिएर हाल देश तथा विदेशमा रहेका गाउँबासीको आर्थिक सहयोगमा प्रतिष्ठान संचालन गरिएको छ । आमा बुवाको सम्झनामा अक्षकोषमा जम्मा हुँदै आएको रकमले हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन सहज भएको प्रतिष्ठानले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News