
रुकुम पश्चिम ७, चैत ।
हिजोआज शब्दहरू निशब्द छन्
त्रस्त औ स्तब्ध छन् ।
नरम जिब्रोमा
नरम नरम शब्दहरूलाई
गरम गरम गराँसीहरूले
काटकुट, मिचमाच, मिसमास पारेर
तयार गरिन्छन्
तीता, चर्का, पीरा र चुप्पीजत्तिकै घोच्ने
अपृय शब्दहरू
र प्रहार गरिन्छन् कोमल छातीहरूमा ।
दुई थान शब्द रङ्गाएर वक्षस्थलमा
दुई थान शब्द छोट्याएर गुप्ताङ्गमा
ठाँटसँग क्याटवाकमा झुल्किएपछि
कसले गर्दैनथ्यो वाह ! वाह !!
शब्दहरू मात्र शरमले चुपचाप रहन्छन् ।
आङमा सुन्दर शब्द लपेटेका बगरेहरू
बगलीमा मार्ने/मराउने छुरा छिपाएर
ओठमा ‘राम, राम’ झुन्ड्याइरहन्छन् ।
कतै उपस्थित हुनुपर्दैन हाडबिनाको जिब्रो
न्यायिक वा अर्धन्यायिक बगरहरूमा
जहाँ शब्दका लासहरू असरल्ल थुप्रिएका हुन्छन् ।
एकातिर शब्दका हिँस्रकहरू
शब्द गिजोलिरहन्छन्, बिगारिरहन्छन्
अर्कोतिर शब्दका पूजारीहरू
शब्द तिखारिरहन्छन्, सिँगारिरहन्छन्
देवासुर संग्राम यथावत छ ।
र
शब्दहरू आफैमा निशब्द छन्
त्रस्त औ स्तब्ध छन् ।
– लेखक पूर्ण ओली ।
